११ माघ २०७५, शुक्रबार

काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अन्य कुनैपनि देशबीच नभएको स्पष्ट पार्नु भएको छ ।

उहाँले भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको भएको बताउँदै द्धिपक्षीय सम्बन्ध प्राचीन सम्बन्ध भएको बताउनुभयो । यद्धपि उहाँले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको बारेमा भने केही पनि नबोल्ने प्रष्ट पार्नु भयो ।

शुक्रबार भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित अन्र्तक्रिया कार्यक्रममा राजदूत पुरीले भन्नुभयो,‘भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अन्य कुनैपनि दुई देशबीच यस्तो सम्बन्ध छैन, जुन हामीबीच प्रगाढ छ ।’

राजदूत पुरीले दुई देशबीच जनस्तरमै अत्यन्तै सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामीबीच रोटी–बेटीको सम्बन्ध छ । यहाँहरुमध्ये सायद कोही पनि यस्तो व्यक्ति हुनुहुन्न होला, जसले बलिउडको फिल्म नहेर्नुभएको होला । मेरो विचारमा सबैले हेर्नुभएको छ । अहिले त हामीबीच क्रिकेटले पनि सम्बन्ध सुमधुर बनाएको छ । नेपालका उदाउँदा युवा क्रिकेटर सन्दीप लामिछाने भारतको आईपीएलमा जमेका छन् ।’

त्यस्तै उहाँले भारतका विभिन्न च्यानलहरुबाट प्रशारण भैरहेका सिरियल पनि नेपालमा सबैले हेरिरहेको सुनाउँदै यसलेपनि नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध प्रगाढ रहेको देखाउने विश्वास दिलाउनु भयो ।

दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउनको लागि अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘ईन्ट्रिगे्रटेड चेक पोष्ट’ ले वस्तु तथा सामग्री आदान–प्रदानमा ठूलो सहयोग पुगेको विश्वास दिलाउनुभयो । आगामी दिनमा यस्तै चेक पोष्ट नेपालगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि सञ्चालनमा ल्याउने राजदूत पुरीको भनाइ थियो ।

त्यस्तै उहाँले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रुपमा सञ्चालनमा आएको बताउनुभयो ।

काठमाडौं–दिल्लीमात्रै नभएर अहिले काठमाडौं–बोद्यगया, जनकपुर–अयोध्या, जनकपुर–पट्ना, नेपालगञ्ज–लखनउलगायतमा सिधा बस सेवा सञ्चालनमा रहेको सुनाउँदै अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेको पनि उनले सुनाए । पुरीले भने,‘अहिले त बसको टिकट पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ ।’

फरक प्रसँगमा राजदूत पुरीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कहिले बुझ्नुहुन्छ भनेर सोधेको प्रश्नमा उहाँले आफू यसको सदस्य नभएकोले यसबारेमा कुनै प्रतिक्रिया नदिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘म ईपीजीमा आवद्ध छैन । यो आँफैमा स्वायत्त निकाय हो । नेपालबाट डा. भेषबहादुर थापाले ईपीजीको नेतृत्व गर्नुभएको छ । म यसको जवाफ दिन सक्दिन् ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV