११ माघ २०७५, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलास मादुरोको समर्थन गरेको छ । विपक्षी सांसद हुँवा गोइदोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक ढंगबाट निर्वाचन संवैधानिक राष्ट्रपति निकोलास मादुरोलाई नै समर्थन रहेने स्पष्ट पारेको हो ।

अमेरिका र पश्चिमा देशले भने आफूलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपति घोषणा गर्नेे सांसद हुँवा गोइदोलाई मान्यता दिएका छन् । रुस, चीन, मेक्सिको, टर्कीसहितका देशले भने मदुरोलाई समर्थन गरेका छन् । भारतले पनि भेनेजुएलामा गर्न खोजिएको सत्ता परिवर्तनका विरोध गर्दै राष्ट्रपति मादुरोकै समर्थन गरेको छ ।

अध्यक्ष दाहालको विज्ञप्तिमा अमेरिका र त्यसका सहयोगी राष्ट्रले भेनेजुएलाको आन्तरिक मामिलामा हस्ताक्षेप गरेको भन्दै त्यसको भत्र्सना पनि गरिएको छ । कार्यवाहक राष्ट्रपतिमा हुँवा गुइदोको स्वघोषणालाई अमेरिकासहित केही राष्ट्रले तत्कालै समर्थन गर्नुले भेनेजुएलाको आन्तरिक मामिलामा दखल र साम्राज्यवादी ‘कु’को कोशिस स्वीकार्य नहुने अध्यक्ष दाहालको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको दाहालको आरोप छ । भेनेजुयलामा मे सन् २०१८ मा भएको चुनावबाट राष्ट्रपति पदमा मादुरो पुननिर्वाचित भएका थिए । उनले यसै महिना दोस्रो पदावधिका लागि सपथ लिएका थिए ।

तर, मानवअधिकार विरोधी भएको र अर्थतन्त्रलाई धराशयी बनाएको भन्दै आन्तरिक शक्ति र केही अन्तर्राष्ट्रिय समुदायले उनको आलोचना गर्दै आएका छन् ।

LIVE TV