११ माघ २०७५, शुक्रबार

काठमाडाैं । सरकारले आज विरोधका बीच प्रतिनिधिसभाको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसले चिकित्सा विधेयकलाई गत मंगलबार बसेको बैठकमा प्रस्तुत हुन नदिएपछि रुष्ट बनेको सरकारले हरसम्भव प्रयास गरी आज विधेयक पास गर्ने तयारी गरेको हो ।

विधेयकले गरेका व्यवस्था बुझ्दै नबुझी डा. केसी अनसन बसेको र छलफलमा बोलाउँदा पनि केसी उपस्थित नभएको भन्दै संसदको सार्वभौमलाई ख्याल गर्दै आज विधेयक प्रस्तुत गर्दै पारित गर्ने सरकारको रणनीति छ ।

सत्तारुढ दलका नेताले तत्कालिन सभामुख रामचन्द्र पौडेलले स्थापित गरेको नजीरअनुसार मन्त्रीलाई रोष्टम जान नदिए यथास्थानबाट पेश गरेर भएपनि विधेयक पारित गराउने बताउँदै आएका छन् ।

उता, नेपाली कांग्रेसले भने सहमति विपरित ल्याइएको विधेयक पेश गर्न नै नदिने निर्णय गरेको छ । बहुमतको बलमा विधेयक पारित गर्न खोजिए संसदीय प्रक्रिया अगाडि बढ्न नदिने चेतावनी दिएको छ ।

यता, दुवै दल टसको मस स्थितिमा रहेपछि संसदमा एक सय भन्दा बढी मर्यादापालक खटाइने भएको छ । त्यसबाहेक पनि मुठभेडको सम्भावनालाई मध्यनजर गर्दै थप मर्यादापालकलाई तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV