१० माघ २०७५, बिहीबार

गोरु तस्कर समूहले अवैध तरिकाबाट भारत लैजाँदै गर्दा गोरु नियन्त्रणमा लिइएको छ । कपिलबस्तुस्थित चन्द्रौटादेखि १० किलोमिटर पश्चिमको जंगल क्षेत्रबाट गोरुलाई नियन्त्रणमा लिइएको हो । बुधबार राति स्थानीय युवा समूहले भारत निकासी गर्दै गरेको १९१ वटा गोरु नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । ८ वटा ट्रकमा लोड गरेर तस्कर समूहले गोरु भारत निकासी गर्दै गरेको सूचना पाएपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए ।

७५ वटा गोरु लोड भएको तीन वटा ट्रकलाई भने युवाले नियन्त्रणमा लिन सकेनन् । नियन्त्रणमा लिइएका ट्रकमा गोरु मात्रै होइन, किनबेचै गर्न नपाइने साँडेसमेत थिए । यी गोरु मकवानपुर, हेटौंडास्थित ब्रम बाबा सप्लार्यस नामक कृषि फार्मले संकलन गरी भारतुहँदै बंगलादेश लैजान लागिऐको थियो । जाकिर हुसेन भनिने पाकिस्तानी नागरिकलाई सर्लाही नवलपुर ठेगाना देखाएर बिक्री गरिएको छ । कृषि प्रयोजनका लागि भन्दै कपिलबस्तुको सीमा क्षेत्रबाट गाईगोरु तस्करी हुँदै आएको छ ।

कसरी हुन्छ गोरु तस्करी ?

सीमा क्षेत्रका जिल्लामा भारतबाट किसानका नाममा गोरु नेपाल ल्याइन्छ । सीमापारिबाट ल्याइएका गोरु हाट बजारबाट खरिद गरेको कागज बनाई तस्करी हुने गरेको छ । खासगरी पश्चिम तराईको बाँके, बर्दिया, कपिलबस्तु, दाङलगाययत र पूर्व तराईको झापा, इलाम र सर्लाहीलगायत क्षेत्रमा गोरु तस्करी ज्यादा हुन्छ । तस्करले नेपाली गाउँमै डुलेर पनि गाई संकलन गर्छन् । कृषि प्रयोजनका लागि भन्दै भारतबाट ल्याइएका र नेपालमा संकल भएका गोरुलाई तस्करले चराउने बहानामा जंगल क्षेत्र लैजान्छन् । जंगलक्षेत्रबाटै गोरु भारत निकासी हुन्छ ।

भारतहुँदै गाईगोरु बंगलादेश पठाइन्छ । खासगरी बंगलादेशमा मासुका लागि गाइगोरु अवैध निकासी हुन्छ । कानुनतः भारतबाट नेपालमा गाइगोरी ल्याउनै पइदैन । गोरु तस्करीमा प्रहरीदेखि स्थानीय प्रशासनको समेत मिलेमतो हुने गरेको छ । तस्करले पैसा खुवाएर रोगी र बुढा गोरुलाई समेत स्वस्थ्य भएको प्रमाणित गर्न लगाउँछन् । स्थानीय जनप्रतिनिधिले समेत खुलेयाम गोरु तस्करी भएकोमा आपत्ति जनाएका छन् ।

पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा गोरु तस्करी बढेको छ । विगतदेखि नै गोरु तस्करी भइरहेको न्यूज सार्वजनिक भए पनि नियन्त्रणका लागि गरिएको सरकारी प्रयास असफल छ । मासुको प्रयोजनका लागि गोरुको अवैध कारोबार भएको प्रमाणित भइसक्दा पनि प्रहरी प्रशासनले आवश्यक कदम चालेको छैन । यसले तस्कर–प्रहरी मिलेमतो भएको शंका बढेको छ ।

सीमा क्षेत्रमा हरेक सामानको अवैध कारोबार हुने गरेको समाचार सार्वजनिक भइरहेकै हुन्छ । स्थानीय प्रशासन र जनप्र्रतिनिधिकै मिलेमतोमा अवैध कारोबार हुने गरेको कुरा सामा्रन्य जस्तै भइसकेको छ । पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा गाईगोरु तस्करी बढेको तथ्य सार्वजनिक भइरहँदा पनि सरकारी स्तरबाट नियन्त्रणको प्रयास प्रभावकारी भएको छैन ।

भारतीय क्षेत्रमा गोरुको मासुमा प्रतिबन्ध लागेपपछि नेपाली बाटो हुँदै विभिन्न देशमा गोरु तस्करी हुन थालेको हो । खासगरी मासुको प्रयोजनका लागि बंगलादेश र भुटानमा गोरु निकासी हुने गरेको छ ।

भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि भएको प्रशासनिक फेरबदलका कारण गोरुको तस्करी बढेको हो । भारतीय क्षेत्रमा संरक्षण गर्न नसकेर छाडा रहेका चौपायालाई तस्करले शिकार बनाउँदै अवैध बाटो भएर बंग्लादेश र भूटानसम्म पु¥याउने गरेका छन् । जसका लागि उनीहरुले नेपालको बाटो प्रयोग गर्ने गरेका छन् ।

सीमा क्षेत्रमा मात्रै हो्रइन, पहाडि जिल्लाहरुबाट गोरु संकलन हु्रन्छ र प्रशासनकै मिलेमतोमा गोरु निकासी हुन्छ । नेपालमा पनि गाईगोरुको मासु प्रतिबन्धित छ । तै पनि हिमाली जिल्लाह्ररुमा गाईगोरुको मासुको कारोबार हुने गरेको छ । त्यस्तै, कर्णालीको उत्तरी नाकाबाट पनि बर्सेनि हजारौंको संख्यामा गाईगोरु तिब्बतमा तस्करी हुने गरेको छ । कर्णालीको उत्तरी नाकामा भन्सार कार्यालय रहेको र प्रहरी उपस्थिति न्यून रहेका कारण चीनतर्फ गाईगोरु तस्करी हुने गरेको हो ।

तिब्बतमा गाईगोरुको मासुको माग उच्च भएका कारण हुम्लाको हिल्सा, मुगुको नाक्चे लाक्ना र डोल्पा मोरिल्लाबाट चीनमा गाईगोरुको तस्करी हुने गरेको छ । कर्णालीको तल्लो क्षेत्र र बाजुरा तथा अछामबाट गाईगोरु किनेर कर्णालीका हुम्ला, जुम्ला, डोल्पा र मुगुका स्थानीयवासीले गाईगोरुहरूलाई चीनतर्फ लगेर बेच्ने गरेका छन् । उत्तरी नाकाबाट गाई र गोरु तस्करी हुने गरेको भए पनि सरकारी तथ्याङ्कमा गाई र गोरु के–कति तस्करी हुने गरेको छ ? त्यसको कुनै तथ्यांक छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV