१० माघ २०७५, बिहीबार

देवराज पन्त,

मकवानपुर ,माघ १० । राष्ट्रपति विद्यादेवी भण्डारी २५६ औं विजय उत्सव कार्यक्रममा सहभागी हुन मकवानपुरगढी पुग्नुभएको छ । मकवानपुरगढी गाऊँपालिकाले मकवानपुरगढीको समृद्धिको आधार, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ यस बर्षको विजय उत्सव कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक धरोहरलाई जोगाउँदै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनु भयो। मकवानपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै औद्योगिक क्षेत्रको स्तरीकरण गर्दै युवावर्गलाई लक्षित गरी रोजगारी श्रृजना गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रपति भण्डारीको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटकीय क्षेत्र, ऐतिहासिक धरोहरको विकासका लागि आवधिक विकास योजना प्रदेश सरकारले लागू गरिसकेकाले ऐतिहासिक क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो् । ऐतिहासिक गढीको संरक्षण र सम्बद्र्धनमा नेपाली सेनाले स्थानीय सरकारहरुसँग समन्वय गरेर संरक्षण गरिरहेको नेपाली सेनाको भनाई रहेको छ ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश ३ प्रमुख अनुराधा कोईराला, मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश मन्त्रीहरु, प्रतिपक्षी दलका नेता, पुरातत्व विभागका प्रतिनिधी, सञ्चारकर्मी, स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विक्रम सम्वत १८१९ मा गुरगिन खाँको विदेशी फौज होचो ठाउँ हालको शिखरकटेरीतर्फ लागेको देखेर गोर्खाली फौजले अग्लो स्थानबाट ढुंगामुढा लडाई बन्दुक लगायत घरेलु हतियारको प्रयोग गरी माघ ९ गते रातिदेखि १० गतेसम्म युद्ध गरी मुगल सैनिकका १७ सय फौज हताहत गराएका थिए भने बाँकीलाई लखेट्दै सिमाना कटाउदै विजय भएको खुशीयालीमा मकवानपुरगढीमा प्रत्येक वर्ष विजय उत्सव मनाउदै आईएको छ ।

युद्धमा गोर्खालीतर्फ करीब २ दर्जन बढीले वीरगती पाएका थिए भने युद्धबाट दुई तोप करिब ५०० नाल आधुनिक बन्दुक अन्य हातहतियारसमेत गोर्खाली फौजलाई प्राप्त भएको थियो । सो मुगल सैनिकलाई पराजित गरिसकेपछि नै नेपालको एकीकरणको शुरुवात भएको इतिहासकारहरुको भनाई रहेको छ । तत्कालिन समयमा स्थायी सेना नभएकाले सर्वप्रथम विक्रम संवत १८१९ असोज ५ गते हालको श्रीनाथ र काली बक्स कम्पनी, असोज ९ गते बर्दवानी र सबुज गण कम्पनी खडा गरि नेपाल एकीकरणको शुरुवात गरिएको थियो । नेपाल एकीकरणमा पहिलो राज्य जितेकाले मकवानपुर गढीको विशेष महत्व रहेको छ ।

पाल्पाका मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेनको भागमा मकवानपुर गढी अंश भाग परी दरबार निर्माण गरी सन् १५५३–१५९१ सम्म शासन गरेको ईतिहास रहेको छ भने उनका छोरा राघव सेनले १५९१–१६३१ सम्म र राघव सेनका छोरा हरिहर सेनले १६३१–१६७२ सम्म मकवानपुरमा शासन गरेका थिए  । मकवानपुर जिल्लाको नामाकरण पनि मुकुन्द सेनको नामबाट मुकुन्दपुर रहेको र पछि अपभ्रंश भई माकन्दपुरहुँदै मकवानपुर रहन गएको बताईन्छ । २०६६ सालदेखि गढी पर्यटन विकास समन्वय समितिले प्रत्येक बर्ष माघ १० गते विजय उत्सव मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV