१० माघ २०७५, बिहीबार

राजन परियार

सिन्धुली १० माघ । सिन्धुलीमा पछिल्लो समय लोपोन्मुख मानिएको पञ्चेबाजा बिवाह, ब्रतबन्धका साथै विभिन्न महोत्सव, अतिथि सत्कार, सभा समारोहहरुमा पनि यसको प्रयोग बढ्दै गईरहेको छ । नेपाली लोक संस्कृतिमो अभिन्न चिनारी मानिएको पञ्चेबाजा नेपाल भित्रै लोपोन्मुख बाजाका रुपमा चिनिन्छ । आधुनिकीरणको प्रभाव र जनशक्ति र इच्छाशक्तिको अभावले देश भित्र गुञ्जने पन्चेबाजाको लोकप्रिय घट्दै गएको वेला जिल्लामा यसको प्रवद्र्धनका गर्न थालिएकोे छ ।
पछिल्लो समयमा केही स्थानीय तहले यसको संरक्षण र सम्वद्र्धनमा भूमिका खेल्न थालेका छन् । पञ्चेबाजाको सर्वापरी विकास र यसको मौलिक पक्षलाई जीवन्त राख्नु आवश्यक छ ।

मंगलवार सम्पन्न फिक्कल गाउँपालिकाले आयोजना गरेको प्रथम फिक्कल महोत्सवमा सिन्धुली प्रगतिशिल प्रतिभा केन्द्रले सिन्धुलीले सिन्धुली कलाघर निर्माण गरी जिल्लाका धार्मिक तथा पुरातात्विक सम्पदाको चित्रकला, फिक्कलको पर्यटकीय स्थलको चित्रकला, लोपोन्मुख पञ्चेवाजा, विभिन्न जातजाति तथा समुदायका भेषभुषा प्रर्दशनमा राखिएको थियो । महोत्सवमा पञ्चेबाजा प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । महोत्सवमा पञ्चेबाजाको प्रतियोगिता मात्र भएन कार्यक्रममा सहभागी अतिथि स्वागत तथा कार्यक्रमको सुरुवातमा वजेको पञ्चेवाजाको धुनले महोत्सवमा सहभागीले छुट्टै किसिमको सांगीतिक मनोरञ्जन लिए ।

सिन्धुली प्रगतिशिल प्रतिभा केन्द्रले सिन्धुली पञ्चेबाजा प्रतियोगितामा प्रतियोगी नभई पञ्चेवाजाका साथ अतिथि सत्कारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउछन फिक्कल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष खड्ग नेपाली । संस्कृति हराए देशको पहिचान मेटिने भन्दै यसलाई जोगाइराख्न फिक्कल गाउँपालिकाले संचालन गरेको प्रथम फिक्कल महोत्सवमा प्रतियोगिताकै रुपमा राखेको र यसको संरक्षणमा यतिले मात्रै नभइ आफ्नो शुभकार्यमा नेपाली पन्चेबाजा प्रयोग गर्न अध्यक्ष नेपाली आग्रह गर्दछन् । महोत्सवमा पञ्चेबाजा प्रतियोगिहरुहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

पञ्चेबाजा अथवा पाँच बाजाहरूको समुह हो । यो बाजा नेपालको पहाडी भेग तथा भारतको सिक्किम तथा दार्जलिङमा बजाईने गरिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन । पञ्चेबाजा, नेपाली धार्मिक एवं सांस्कृतिक बाजाको रुपमा प्रयोग हँुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा(आजा आदि) लगायतमा बजाइने गरिन्छ ।
नेपाली मौलिक संस्कृतिको धरोहर पञ्चेबाजा दलित समुदाय विशेष गरी दमाई र सार्की जातिको मौलिक बाजा भनिएता नि अहिले धेरै जातजातिका मानिसहरुले वजाउने गरेको पाइन्छ । यसले धार्मिक एवं सांस्कृतिक रुपमा उत्कृष्ट पहिचान बोकेको छ । नेपाली समाजमा सवै नेपालीको मन मुटुमा बस्न सफल भएको पञ्चेबाजा नेपाली मौलिक संस्कृतिको अनुपम नमुना हो ।


शुभ साइतको शंखघोष गर्न, बिवाह ब्रतबन्ध जस्ता धार्मिक कार्यहरुमा यसलाई ज्यादै महत्वका साथ लिईन्छ । नेपालमा प्रचलित लोकगीतहरुलाई मिठासपूर्ण रसमय धुनमा सिंगारी पञ्चे बाजाद्वारा प्रस्तुत हुँदा जो कोहि पनि मन्त्रमुग्ध नहुने कुरै हुँदैन । मानिसको अन्तरमनलाई भित्री गहिराई देखिनै छुन सफल पञ्चेबाजा नेपाली रितीरिवाज, धर्म र संस्कृतिको केन्द्रबिन्दु पनि हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV