१० माघ २०७५, बिहीबार
  • रविना बोहरा

बागलुङ । बागलुङ बजारमा नाली, पार्क लगायतका सार्वजनिक जग्गा मिचेर भौतिक संरचना निर्माण गर्ने क्रम रोकिएको छैन । भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गापास, नक्सा पास तथा भौतिक संरचना निर्माण सम्पन्नताको प्रमाणपत्र दिनेबेला प्रभावकारी अनुगमन नगर्दा सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माणको क्रम बढ्दै गएको देखिएको छ ।

स्थानीयबासीले आफ्नो जग्गासँग जोडिएका सदरमुकामभित्रका प्राय: ठाउँमा सार्वजनिक जग्गा लगायत ढल निकासका लागि निर्माण गरिएका नालीमाथि नै संरचनाहरु बनाउँदा ढलको पनि उचित निकास हुन सकेको छैन ।

नाली नै मिचेर संरचना निर्माण गर्दा वर्षातकाे समयमा पानी सडकमा आएर बाढी चल्ने तथा गर्मीको समयमा नाली गन्हाएर बस्नै नसक्ने अवस्था सिर्जना भएको छ । नगरपालिकाले जथाभावी बनेका संरचना हटाउन अग्रसरता नदेखाउँदा नयाँ संरचना निर्माण हुने क्रम समेत बढ्दै गइरहेको स्थानीयवासी बताउँछन् ।

भित्री नालीहरुमाथि घर, टहरा बनाएका कारण हिँड्नका लागि बाटोसमेत नहुने ढोरपाटन नगरपालिका–४ खुंगाकी पुनले बताइन् ।

नाली नै थुनिनेगरी संरचना निर्माण गरिँदा ढल निकासमा समस्या भएको छ भने बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले तय गरेको नियमअनुसार नालीको छेउको विन्दुदेखि एक मिटर छाडेर मात्र संरचना निर्माण गर्न पाइने, घरको सेटब्याक साढे एक मिटर छाड्नुपर्ने, मुख्य सडक १५ मिटर र भित्री सडक तीन मिटर छाडेर संरचना निर्माण गर्न पाइने व्यवस्था छ । तर यहाँ आफ्नै ढंगले संरचना निर्माण गर्दा बजार कुरुप बन्दै गएकाले यसलाई व्यवस्थापन गर्नुपर्ने बानपा–२ का वडा सदस्य अर्जुन घिमिरेले बताए ।


नगरपालिकाकाअनुसार बजार क्षेत्रमा एक सय ५० भन्दा बढी घरहरु मापदण्डविपरीत छन् । नगरपालिकाले मापदण्ड विपरित रहेका संरचनाहरुलाई बैधानिकता प्राप्तीका लागि निवेदन दिन सार्वजनिक सूचना जारी गरिएपछि ६४ जनाले नगरपालिकामा निवेदन दिएकाले सोही अनुसार नयाँ नीति बनाएर अगाडि बढीने बताएको छ । त्यसको कार्यान्वयनका लागि नगरपालिकाले नीति बनाएर अगाडि बढ्ने योजना बनाएको बागलुङ नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक ध्रुवबहादुर केसीले बताए ।

पहिले मापदण्डविपरीत संरचना निर्माण गर्ने र पछि जरिवाना तिरेर वैधानिकता प्राप्त गर्ने प्रचलन बढ्दै गएपछि मापदण्डमा कडाई गर्न थालेको नगरपालिकाले जनाएको छ । तर जथाभावी घर बनाउने क्रम भने राेकिएकाे छैन । यता विगतमा घर बनाउँदा नगरपालिकाले कुन आधारमा नक्सा स्वीकृत गर्यो भन्ने विषयलाई नै छानबिन गर्नुपर्ने कतिपय स्थानीयबासीको माग छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV