९ माघ २०७५, बुधबार

वासिङटन। अमेरिकी सरकारी कार्यालयहरु आंशिक रुपमा बन्द भएको ३३ दिन पुगेको छ । मेक्सिकोसँग सीमा जोडिएको भागमा पर्खाल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको तल्लो सदन समक्ष बजेट माग गरेका थिए । तर सदनमा रहेका विपक्षी डेमोक्रेटहरुले भने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।

डेमोक्रेट र ट्रम्पको अडानका कारण करिब ८ लाख सरकारी कर्मचारीहरुले यो वर्षको पहिलो तलब पाएनन् । अमेरिकी इतिहासमा हालसम्मकै सबैभन्दा लामो सट डाउनको अन्त्य गर्ने भन्दै बिहिवार अमेरिकी सदनमा मतदान हुने भएको छ।

सट डाउन सम्बन्धी दुई प्रस्तावहरु सिनेटमा दर्ता भएको बताइएको छ । डेमोक्रेट र रिपब्लिकहरुले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका हुन् ।यद्यपि दुवै प्रस्तावहरु सदनबाट पारित हुने अवस्था नरहेको सीएनएनले उल्लेख गरेको छ । सिनेटका वरिष्ठ नेता मिट्ज म्याक्कोन्नेलले राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेको बजेट स्वीकृत गर्ने र सट डाउन खुलाउने प्रस्ताव दर्ता गराएका छन् ।

ट्रम्पले केही दिनअघि आंशिक रुपमा बन्द रहेको सरकारी कार्यालय खोल्न नयाँ प्रस्ताव ल्याएका थिए। उनले युवा उमेरमा सुखद भविष्यका लागि भनेर गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका ड्रिमर्स र टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस टीपीएसु अन्तर्गत अस्थायी रुपमा बसोवास गर्ने इजाजत प्राप्त गरेकाहरुका सम्बन्धमा सम्झौता हुन सक्ने बताएका थिए ।

LIVE TV