८ माघ २०७५, मंगलवार
  • दानबहादुर बुढा

मुग । कर्णाली प्रदेशको ब्यापारी मार्ग गमगढी–नाक्चेलाग्ना सडक आयोजना अलपत्र परेको छ । २०६६ सालबाट निमार्ण सुरु गरिएको ९२ किलोमिटरमध्ये अहिलेसम्म १६ किलोमिटरको मात्रै ट्रयाक खोलिएको छ । निर्माण सुरु गरिएको ९ वर्षमा सडकका लागि १२ करोडभन्दा बढी खर्च भने भइसकेको छ ।

बैशाख १ गते कर्णाली–रारा पर्यटन वर्षको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतसँग जोडिएको गमगढी–नाक्चेलाग्ना सडक निर्माणमा उच्च प्राथमिकता दिएको बताएका थिए । तर, त्यसको १० महिना बित्दा पनि सडक निर्माण अलपत्र नै छ ।

अहिले ट्रयाक खोलिएको ठाउँबाट तिब्बतको नाक्चेलाग्ना सिमानासम्म पुग्न ३ दिनको पैदल दूरी पार गर्नुपर्छ । सरकारले बैधानिकता नदिए पनि नाक्चेलाग्ना नाकाबाट आयात–निर्यात भने भइरहेको छ । नेपाल–तिब्बतका सात वटा नाकामध्ये सवैभन्दा छोटो भएकाले स्थानीयसहित व्यापारीले सडक निर्माणलाई तीब्रता दिनुपर्ने माग गर्दै आएका छन् ।

सरकारको २०७३ साल पुस ७ गते निर्णयअनुसार मुगुको ताल्चा बिमानस्थालमा परियोजना कार्यालय स्थापना गरी सडक निर्माणलाई गति दिन खाजेको थियो । तर, यस अर्थिक वर्षका लागि संघीय सरकारले बिनियोजन गरेको दुई करोड रुपैयाँ अहिलेसम्म कर्णाली प्रदेशको भौतिक तथा पूर्वाभार मन्त्रालयमा पुगेको छैन । जस कारण आयोजनाका कर्मचारीले सात महिनासम्म तलाबसमेत पाएका छैनन् । बजेट नभएकै कारण सडक निर्माणमा समस्या भइरहेको आयोजनाले जनाएको छ ।

संघीय र प्रदेश सरकारमा दबाब बढाउन भन्दै मुगको कामारोङ गाउँपालिकाले पनि यो सडकका लागि ६६ लाख बजेट छुट्याएको छ । स्थानीय भने प्रदेशसभा र संघीय संसदमा प्रतिनिधित्व गर्ने ६ नै जना सांसदले चासो नदिएका कारण पनि सडक निर्माणले गति लिन नसकेको गुनासो गर्छन । तर, संघीय संसदका सदस्यको भने बजेटका लागि निकै ताकेता गर्दा पनि सुनुवाई नभएको आफ्नै गुनासो छ ।

सडक निर्माण सुरु भएपछि दुई/तीन वर्षमै गाडी चढ्न पाइएला भन्ने चाहना धकेलिएपछि स्थानीय निरास छन् । सडक बने पिठ्यूमा भारी खेप्नुपर्ने मुगुबासीको बाध्यता हट्ने र तिब्बततर्फबाट सामान आयात गर्न सजिलो हुने छ । ९ वर्षमा १६ किलोमिटर मात्रै ट्रयाक खोलिएका कारण नाक्चेलाग्ना सिमावर्ती क्षेत्रमा गाडी नै पुग्न भने निकै वर्ष लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV