८ माघ २०७५, मंगलवार

विराटनगर । सुनसरीको बर्जु नगरपालिकामा रहेको इष्टर्न सुगर मिलले उखु किन्ने सहमति गरेपछि सुनसरी मोरङका उखु कृषकहरु उत्साहित भएका छन् । उखु मुल्य विवादका कारण इष्टर्न सुगर मिलले उखु किनेको थिएन ।

सरकारले उखुको न्यूनतम मुल्य ५ सय ३६ रुपैया प्रति क्विण्टल तोकेको भएपनि उखु कृषक र सुगर मिलबीच ३० रुपैया घटि अर्थात प्रति क्विण्टल ५ सय ६ रुपैयामा किन्ने सहमति भएको सुनसरी मोरङ उखु उत्पादक संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र राज पाण्डेले बताउनु भयो । गत वर्ष पनि उखु कृषकहरुले ३० रुपैया घटिमा नै उखु बेचेका थिए । उखु मुल्य विवादका कारण खेतमा नै उखु फूलेर सुक्दै गएको र मिल पनि घाटामा जाने स्थिति भएकाले मुल्य बारे उखु कृषक र चिनी मिल बीच सहमति भएको सुनसरी मोरङ उखु उत्पादक संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र राज पाण्डेले जानकारी दिनुभयो ।

शैलेन्द्रराज पाण्डे, कार्यवाहक अध्यक्ष, मोरङ सुनसरी उखु उत्पादक संघ । सुनसरी र मोरङमा यस वर्ष करिब साढे ५ हजार बिगहामा उखु खेती गरिएकोमा करिब १४ लाख क्विण्टल उखु उत्पादन भएको अनुमान छ । इष्टर्न सुगर मिलले प्रति दिन २० हजार क्विण्टल उखु खरिद गर्ने गरी पूर्जी वितरण समेत थालेको छ । उखुको रकम भुक्तानी प्रत्येक १५ दिनमा गर्ने सहमति चिनी मिल र उखु कृषक बीच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV