८ माघ २०७५, मंगलवार

हुम्ला । यहाँ भारी हिमपात हुँदा जनजीवन कष्टर बनेको छ । सोमबार रातिदेखि जिल्लामा भारी हिमपात हुनुका साथै हुरीसमेत चलिरहेको छ ।

हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्नमा समस्या भएको छ । हिमपात जारी रहँदा स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । 

सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ । उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ ।  

बाजुरामा पनि एकाएक हिमपात

उता बाजुरामा पनि हिमपात भएको छ । पुसको पहिलाे सातादेखि माघ दोस्रो साता सुरू हुँदासम्म बाजुरामा तीनपटक हिमपात भएको हो । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् ।

हिजाे दिनभर घाम लागेकाे भए पनि मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ । 

सदरमुकाम आसपासको जङ्गलमा झण्डै आधा फिट हिउँ जमेको छ । सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ । हिमपात हुने क्रम अझै जारी छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । यहाँका मानिस घरमा आगो तापेर बसेका छन् ।

हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ भने पोरखे लेकमा धेरै हिउँ परेका कारण मार्तडी कोल्टी सडकमा चल्ने ट्र्याक्टर र जीप सेवासमेत बन्द भएको स्वामिकात्तिक यातायात प्रालिका काउण्टर इन्चार्ज निशान्त रोकायाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV