७ माघ २०७५, सोमबार

काठमाडौँ । सार्वजनिक जग्गा मिचेर व्यापारिक भवन बनाइएको भन्दै स्थानीयले सर्वोच्च अदालतमा मुद्दा हाले । मुद्दा विचारधीन छ । तर, पनि छायाँ सेन्टर निर्माणको काम रोकिएन । जहाँ छायाँ सेन्टर बनेको छ, त्यो जग्गा राजगुठीमा भएको स्पष्ट प्रमाण छ ।

स्थानीयको विरोध र अदालतमा विचाराधीन मुद्दाका बीच छायाँ सेन्टरको नक्सा कसरी पास भयो ? गुठी संस्थान किन मौन बस्यो ? सार्वजनिक जग्गामा रहेको पोखरी र मन्दिर मासेर ठमेलमा निर्माण भएको छायाँ सेन्टर, स्थानीयको विरोध र सरकारी मौनताबारे केन्द्रित छ । अहिले छायाँ सेन्टर बनेको जग्गासम्बन्धी विवाद नयाँ भने होइन । २०३३ सालमा सहरी क्षेत्रको नापी हुँदा पनि सेन्टर बनेको ठाउँमा भएको पोखरीको क्षेत्रफलमा विवाद भएको थियो ।

क्षेत्रफलको मात्रामा विवाद भए पनि कमल पोखरी क्षेत्रको जग्गा सार्वजनिक भएकोमा कुनै सन्देह छैन । सार्वजनिक जग्गामा व्यापारिक कम्प्लेक्स बनाउँदा पनि सरोकारवाला सरकारी निकाय चुप, मै चुप छ । तथ्य र सरकारी कागजातले नै प्रष्ट पार्छ कि, छायाँ सेन्टर सार्वजनिक जग्गामा नै बनेको हो । तर, कम्प्लेक्स निर्माणकर्ताले पहुँच र पैसाको प्रभावमा सकेसम्म गुठी जग्गालाई रैकर करार गर्न सक्दो प्रयास गरेका रहेछन् । स्थानीय र सर्वसाधारणको आँखामा छारो हाल्न गरिएका हर कर्तुत क्रमशः सार्वजनिक हुने नै छ ।

पाँचतारे होटलदेखि विभिन्न व्यापारिक केन्द्र सञ्चालन गर्नेगरी खोलिएको छायाँ सेन्टरलाई ‘ठमेलभित्रको ठमेल’ अर्थात् ‘मिनी ठमेल’को उपमा दिएर भद्दा प्रचार गरिएको छ । जसमा राजनीतिक दलका नेतादेखि सरोकारवाला सरकारी कर्मचारीले पनि साथ दिएका छन् । विवादका बीच शक्तिको बलमा भवन ठड्याउन सरकारी निकायको पनि चोसोमोसो मिलेको देखिन्छ ।

स्थानीयले विरोध गर्दा–गर्दै, आफ्नो सांस्कृतिसँग जोडिएको जमिन बचाउको पक्षमा आवाज उठाउँदा–उठाउँदै, यतिसम्मकी सर्वोच्च अदालतमा मुद्दा विचाराधिन हुँदा–हुँदै सरकारी निकायले आँखा चिम्लिनुमा शक्ति नै प्रधानता हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV