७ माघ २०७५, सोमबार
  • रिया भण्डारी

काठमाडौँ । सर्बसाधारणले स्वाइन फ्लु भनेर बुझ्ने एच वान एन वान भाइरसको संक्रमण बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले इन्फ्लुएन्जा जाँचको ५० प्रतिशतमा एच वान एन वान अर्थात स्वाइन फ्लु पोजेटिभ देखिएको बताएको छ ।

 मंसिर सुरु भए लगत्तै छिटफुट देखिन थालेको एचवानएनवान इन्फ्लुएन्जाको संक्रमण बढेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पछिल्लो समय गरिएको परीक्षणमध्ये ५० प्रतिशतमा इन्फ्लुएन्जाको संक्रमण देखिएको छ । मंसिरदेखि पुस २६ गतेसम्म ३३४ जनामा गरिएको परीक्षणमध्ये १६८ मा इन्फ्लुन्जा भएको पार्ईएको हो ।

पछिल्लो ११ दिन मै इन्फ्लुएन्जा जाँचका लागि १७९ वटा नमुना प्रयोगशालामा आएको छ । जसमध्ये ५८ प्रतिशतमा इन्फ्लुएन्जा संक्रमण पोजेटिभ देखिएको छ भने एचवानएनवान अर्थात स्वाइन फ्लु सबै भन्दा बढी छ । डिसेम्बर महिनामा ९१ नमुना जाँचमा ३३ वटामा इन्फ्लुएन्जा पोजेटिभ देखिएको थियो भने २८ जनामा इन्फ्लुएन्जा एचवान एनवान स्वाइन फ्लु प्रमाणित भएको थियो ।

स्वाइन फ्लु संक्रमणबाट सिकिस्त बिरामी भएर अस्पताल पुग्ने पनि बढेका छन् । एक जनाको त मृत्युसमेत भएको इपिडीइमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इन्फ्लुएन्जाको भाइरस बर्सेनी रूप परितर्वन गर्दै कडा बन्दै गएकाले यसको नियन्त्रणमा चुनौती देखा परेको चिकित्सकले बताएका छन् । रुखाखोकी, उच्च ज्वरो, घाँटी र जिउ दुख्नेसहित बान्ता हुनेजस्ता लक्षण देखिए तुरुन्त चिकित्सकीय परीक्षण आवश्यक पर्छ ।

इन्फ्लुएन्जा ए अन्तर्गत पर्ने एचवनएनवान भाइरस सन् २००९ मा सुँगुरबाट आएको थियो । त्यस बखत हजारौंको ज्यान लिएकोले यो भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको थियो । तर, हाल यो भाइरसले रुप परिवर्तन गरेको छ । नेपालमा स्वाइन फ्लु प्रायः वर्षमा दुईपटक फैलिदै आएको छ । तापक्रम एकदम बढी भएर विस्तारै घट्न थाल्दा र जाडो याममा तापक्रम चिसोबाट गर्मीतिर लाग्दा स्वाइन फ्लुको संक्रमण बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV