७ माघ २०७५, सोमबार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । खेलतालिका अनुसार लिगको उद्घाटन खेलमा झम्सी खेल युथ क्लबले ब्वाइज युनियन क्लबको सामना गर्नेछन् । एन्फाले लिगको आधरभुत सिद्धान्त रेलिगेशन र बढुवा हुने प्रावधानलाई नै हटाएर लिग सञ्चालन गरिरहेको छ ।

रेलिगेशनका प्रावधान बिनै ‘ए’ डिभिजन लिग सम्पन्न गरेको एन्फाले ‘बी’ र ‘सी’ डिभिजनमा पनि रेलिगेशन र बढुवाको प्रावधान हटाएको छ । त्यसैले ‘बी’ डिभिजन लिगको शीर्ष स्थान रहने टोलीले ‘ए’ डिभिजन लिगमा बढुवा हुने मौका पाउदैन भने पुछारमा हुने टोलीले पनि ‘सी’ डिभिजन लिगमा घटुवा हुनु पर्नेछैन । एन्फाले ‘बी’ डिभिजन लिग भने नकआउट प्रतियोगिताको जस्तै स्वरुपमा खेलाउन लागेको छ ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो चरणमा दुबै समूहमा राउन्ड रोविन लिग हुनेछ । दोस्रो चरणमा समूह ‘ए’ का विजेताले आफ्नै समूहको उपविजेता तथा समूह ‘बी’को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

LIVE TV