सुनसरीका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाल प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित



प्रकाशित मिति : Jan 21, 2019

अमर काफ्ले,

सुनसरी, ७ माघ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले फुयाललाई पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा दरवन्दी भई कार्यरत रहेका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाललाई कार्यदक्षता र मूल्याङकनका आधारमा महिनाको सर्वोत्कृष्ट प्रहरी छनौट निर्देशिका अनुसार उत्कृष्ठ ठहर गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले प्रदेश भर रहेका मातहतका कार्यालयमा कार्यरत विभिन्न तह र तप्काका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ठ कार्यसम्पादन, कार्यदक्षता र प्रहरी संगठनप्रति कर्तब्य निष्ठावान जस्ता मूल्याङकनका सूचकहरुमा उत्कृष्ठ ठहरिएका प्रहरीलाई हरेक महिनाको सर्वोत्कृष्ट घोषित गरी पुरस्कृत गर्दै आएको छ ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरले विभागीय मूल्य मान्यता, निर्देशनको पालना, व्यवसायिक लगनशिलता र कर्तव्यनिष्ठ तवरले कर्तब्य पथमा तल्लीन रही विभागीय जिम्मेबारी बहन गरेको भनि फुयाललाई सम्बोधन गरेको छ ।

विशेष गरी दक्षिणी सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण, फरार रहेका अभियुक्त पक्राउ गर्न सफल हुनुका साथै विभिन्न जघन्य प्रकृतिका अपराधको सफल अनुसन्धान गर्नमा सक्षम र सफल देखिएकाले प्रहरी नायव उपरीक्षक फुयाललाई पुष महिनाको सर्वोत्कृष्ठ प्रहरी घोषणा गरिएको १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com