बीपीलाई हानेको गोली थाप्दा तारानाथले खुट्टा गुमाउनुपर्यो



प्रकाशित मिति : Jan 21, 2019
  • छविलाल बगाले,

काठमाडाै‌ । तारानाथ कोइराला र नेपाली काङ्ग्रेस लमजुङबीचको सम्बन्ध निकै गहिरो छ । कोइराला लमजुङ काङ्ग्रेसका संस्थापक सभापति समेत हुनुहुन्छ । काङ्ग्रेस भनेपछि ज्यानको समेत कुनै प्रवाह नगर्ने उनै कोइराला अब हामी माझ भने रहनुभएन । कोइरालाको ७५ बर्षको उमेरमा निधन भएको हो । गण्डकी प्रदेशको राजधानी पोखरामा उपचारका क्रममा उहाँको निधन भएको थियो ।

आन्द्रासम्बन्धी समस्याले ग्रस्त बनेका कोइरालाको योगदान काङ्ग्रेसमा अतुलनिय भएपनि काङ्ग्रेसको माया भने उहाँले पाउन सक्नुभएन । पञ्चायतकालमा काङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालामाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षा गर्ने ब्यक्ति नै तारानाथ हुनुहुन्थ्यो ।

प्रजातन्त्रिक आन्दोलनका सेनानी समेत रहनुभएका तिनै ब्यक्ति जसले पञ्चायतको विरुद्धमा आफ्ना अभियान चलाउँदै हिँडेका बीपी कोइरालालाई ताकेर हानेको गोली आफ्नो शरीरमा थापेर कोइरालालाई बचाउनुभएकाे थियाे । त्यही गोली लागेर उहाँले एउटा खुट्टा गुमाउनुपर्यो। कोइराला जीवनभर एउटा खुट्टाविना नै बाच्न बाध्य हुनुपर्याे । सोही घटनामा गोली लागेको खुट्टाको उपचार नभएपछि काटेर नै फाल्नुपरेको पिडा पनि उहाँले भोग्नुपर्यो ।

खुलेर काङ्ग्रेस हुँ भन्न नसक्ने अबस्थामा पनि लुकीलुकी काङ्ग्रेसको संगठन निर्माणमा लाग्ने कोइराला पार्टी पङ्तिमा भने जिउँदो शहीदको रुपमा चिरपरिचित हुनुहुन्थ्यो । उहाँको त्यही त्याग र बलिदानीलाई न बीपीका सन्ततिले बुझे न काङ्ग्रेसले नै । ‘पञ्चायतको जगजगीविरुद्ध २०३६ असोज पहिलो साता स्याङ्जाको राङखोलामा नेपाली कांग्रेसले आमसभा आयोजना गरेको र सभामा विपी कोइराला नै सहभागी हुने जानकारी आएपछि लमजुङ कांग्रेसका संस्थापक सभापति तारानाथ कोइराला पनि त्यहाँ पुगेको कांग्रेस लमजुङका पूर्वसभापति कृष्णप्रसाद कोइरालाको भनाई छ । ‘बहुदलीय व्यवस्थाको प्रचार गर्न आयोजना भएको कार्यक्रमबाट फकिंदाँ विपीलाई लक्षित गरी तत्कालीन व्यवस्थाले गोली चलायो ।’ उहाँले भन्नुभयो ।, ‘त्यही गोली लागेर तारा कोइराला गम्भीर घाइते हुनुभयो । जसका कारण उहाँको एउटा खुट्टा काट्नुपर्यो ।’

नेपाल विद्यार्थी संघ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपाङ्ग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिसमेत
हुनुहुन्थ्यो तारानाथ । प्रजातान्त्रिक आन्दोलनका क्रममा दुई वर्ष जेल परेका कोइराला २०३३ देखि २०३६ सालसम्म काङ्ग्रेस लमजुङका संस्थापक सभापति रहेका तारानाथलाई विपी कोइरालाले नै पार्टीको क्रियाशील सदस्यता दिनुभएको थियो ।

काङ्ग्रेसको संगठन विस्तारदेखि गाउँ गाउँमा पुगेर जनताको समस्या बुझ्ने तारानाथलाई न केन्द्रीयस्तरबाट केही सहयोग भयाे न जिल्ला तहबाट नै । विगतदेखि नै पार्टीले आफूलाई तिरस्कार गरेको गुनासो गरिरहनुहुन्थ्यो तारानाथ । पार्टी र राज्यबाट कुनै सहयोग नपाएपछि उहाँ गाउँघरमै दुःखजिलो गरेर जीवन बिताउँदै आउनुभएकाे थियाे। २०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाउन खोजेपनि हार्ने बेला अवसर दिएको भनेर उहाँ उठ्न मान्नुभएन । जिन्दगीका हरेक आरोह र अबरोह झेल्दै काँग्रेसका लागि जीवन अर्पण गर्ने कोइरालाको निधनले काङ्ग्रेसलाई ठूलो क्षति पुगेको काँग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् ।

लमजुङ काङ्ग्रेसलाई तारानाथजस्ता इतिहास बोकेका ब्यक्तित्वको कहिल्यै खाँचो परेन । अहिले उहाँ नरहेपनि उहाँको पार्टीप्रतिको त्याग, तपस्या र बलिदानी काङ्ग्रेसका लागि उत्तिकै महत्वपूर्ण छ ।

स्वर्गीय कोइरालाको १३ औ दिनको पुण्यतिथिमा सहभागी हुन लमजुङ पुग्नुभएका सभापति देउवाले लमजुङ कांग्रेसका संस्थापक कोइराला पार्टीको जिउँदो सहिद भएको बताउनुभएको छ । कोइरालाको सपना पूरा गर्न पार्टीमा गुट उपगुटको अन्त्य हनुपर्ने भन्दै देउवाले अब कांग्रेस बनेर कार्यकर्ता माझ जान निर्देशन दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com