महानगरपालिकाले पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गर्ने



प्रकाशित मिति : Jan 21, 2019

काठमाडौँ । महानगरपालिकाले पहिलो चरणमा दुई स्थानमा आकाशे पुल बनाउने निर्णय गरेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माण गरिनेछ ।

प्रवक्ता डंगोलका अनुसार महानगरपालिकाको आठ स्थानमा पुल बनाउने योजना भएको तर तत्काललाई दुई स्थानमा शुरु गरि क्रमशः अन्य स्थानमा बनाउँदै लैजाने र बनाइने पुलहरु जुन स्थानमा चाह्यो त्यहिं सार्न मिल्ने बनाइन लागिएको जानकारी दिनुभयो ।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।

टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना रहेको छ । सवारी साधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । अब निर्माण गरिने पुलमा विज्ञापन राख्न नपाइने कामपाले जनाएको छ ।

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीरअस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन् । रत्नपार्कमा एउटा सव–वे पनि छ ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ । वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ ।

कामपाले चालू आव २०७५र७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com