सालीनदीभन्दा जेठो हनुमानघाटमा पनि एकमहिने माधवनारायण व्रत सुरु



प्रकाशित मिति : Jan 21, 2019
  • रा
  • मगोपाल तमखु

भक्तपुर । यहाँको पवित्र तीर्थस्थल हनुमानघाटमा एकमहिने माधवनारायण मेला सुरु भएको छ । प्रत्येक वर्षको पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो व्रत बस्दै यस धाममा मेला भर्ने परम्परा रहेको छ ।

व्रतालुहरुले व्रत शुरु गर्नुभन्दा अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।

पुरुष व्रतालुहरुले शरिरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिनी गरी विन्ती गरी स्नान गरिसके पछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा छ । यस बर्ष पुरुष ब्रतालु १० जना र महिला ब्रतालु ५ जना बसेको समितिले जनाएको छ ।

व्रतालुले औँसीदेखि नै खाली खुट्टा पैदल नै तःमारीस्थित तीलमाधव नरायणबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी ईन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने चलन रहेको छ । यसैगरी दशमीमा पशुपतिस्थित बागमतीमा स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने र द्वादशीमा चाँगुनारायण शंखदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने गरिन्छ ।

माघ शुक्ल पुर्णिमाका दिन भक्तपुर नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर विधिवत व्रत समापन गर्ने परम्परा रहेको छ ।

किंवदन्तीअनुसार काठमाडौंको साँखुमा माधवनारायणको व्रत बस्ने प्रचलन शुरु हुनुभन्दा पनि पहिलेदेखि नै भक्तपुरको हनुमानघाटमा व्रत बस्ने प्रचलन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com