६ माघ २०७५, आईतवार

काठमाडौँ । सघन उपचार कक्ष अर्थात् आइसीयू भनेको त्यस्तो ठाउँ हो, जहाँ गम्भिर प्रकृतिका विरामीलाई विशेष निगरानीका साथ उपचार गरिन्छ । भनेको बेला आइसीयू सुविधा नपाए विरामीको मृत्यु हुन सक्छ । तर, महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आइसीयूकै लागि पावर चाहिन्छ ।

पावर नहुनेहरु उपचार अभावमा मर्न वाध्य छन् । आइसीयूमा पालो कुरेर बसेका विरामी र विरामीका आफन्तको दर्द एकातिर छ, तर अस्पताल प्रशासन भने क्षमता अभावका कारण विरामीलाई आवश्यक उपचार दिन नसकेको बताउँछ । र, पहुँचवालाको सोसफार्सले अप्ठेरो परेको स्वीकार्छ ।

दर्शकहरु, महाराजगञ्जस्थित शिक्षण अस्पतालमा विरामीको उपचार र भर्नाका लागि समेत पहुँचवालको पावर चहिने पट्यारलाग्दो सत्य र विरामीसँगै तिनका आफन्तको पीडाबारे चर्चा गरिरहेका छौं । मन्त्री, नेता वा कोही पहुँचवालाको भनसुन नभए सरकारी अस्पतालमा समेत उपचार गर्न नपाएर विरामी मर्नुपर्ने अर्थात् आफन्त गुमाउनु पर्ने वाध्यता धेरैको छ । तर, उस्पताल प्रशासनको गुनासो पनि उस्तै छ ।

७ सय १३ शैया क्षमताको शिक्षण अस्पतालमा ६ सय ३९ वटा शैयामा मात्रै विरामीको उपचार हुन्छ । त्योमध्ये मुख्य आइसीयूका कक्षमा १९ वटा बेड छ । तर, विरामीको चाप क्षमता भन्दा अधिक भएकाले समस्या भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।

शिक्षण अस्पतालमा प्र्रतिमहिना ६० हजारभन्दा बढी विरामी उपचारका लागि आउँछन् । तीमध्ये करिब चार हजार विरामीको स्थिति गम्भीर हुन्छ । यो हिसाबमा अस्पतालले क्षमता भन्दा बढी विरामीको उपचार परिरहेको स्पष्ट हुन्छ । तर, पहुँचवालाको भनसुन हुने वित्तिकै विरामीले उपचारका लागि ठाउँ पाउने, पहुँच नहुनेले नपाउने स्थिति भने दुःखद हो ।

यो समस्या शिक्षण अस्पतालको मात्रै होइन, देशका प्रायः सरकारी अस्पताल यही अवस्थामा छन् । तर, उपचारजस्तो संवेदनशील विषयमा समेत भनसुनले काम गर्ने अवस्थाको अन्त्यमा प्रथमतः अस्पताल प्रशासन नै जिम्मेवार हुनुपर्छ । ठूलावडा रिझाउन वा आदेश शिरोपर गर्न संभावित सोर्स÷फोर्सवाला विरामीका लागि आइसीयू खाली राख्ने प्रबृत्तिको अन्त्य जरुरी छ । कसैका लागि आइसीयू खाली राख्ने, कसैले नपाउने यो विभेदको अन्त्य अनिवार्य छ ।

LIVE TV