६ माघ २०७५, आईतवार

सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको इटालियन कम्पनी सीएमसीसँगको ठेक्का रद्द गरेको छ ।

लामो विवादपछि सीएमसी कम्पनीको ठेक्का रद्द गरिएको हो । सरकारी निर्णयसँगै मेलम्ची खानेपानी आयोजना निर्माण पर धकेलिने भएको छ । पटक–पटक बोलाउँदा समेत इटालियन कम्पनी सम्पर्कमा नआएपछि सरकारले ठेक्का रद्द गर्ने निर्णय लिनुपरेको बताइएको छ । केही समय पहिले कम्पनीको धरौटी जफत गर्ने तयारी भएको थियो । इटालियन कम्पनीले आफू टाट पल्टेको घोषणा गरेर कर्मचारी देश फर्काउन खोजेको थियो ।

सरकारले कम्पनीका आठ कर्मचारीको पासपोर्ट जफत गर्दै नेपालमै रोकेको थियो । नेपालमै कर्मचारी रोकिएपछि सिएमसीले धरौटी रोक्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । अदालतले अन्तरिम आदेश जारी गरेलगत्तै कम्पनी सरकारको सम्पर्कमा समेत आएको थियो । तर कम्पनीले काम गर्ने प्रतिवद्धता भने नदेखाएपछि सरकारले पुनः ताकेता गरेको थियो । सरकारको ताकेतालाई कम्पनीले अटेर गरेपछि आइतबार ठेक्का रद्द गर्ने निर्णय सरकारले गरेको हो ।

यो निर्णयसँगै सिएमसीले राखेको धरौटी समेत अब सरकारले जफत गर्न सक्नेछ । २०७१ सालमा सरकार र इटालियन कम्पनीका बीचमा सुरुङ खन्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV