६ माघ २०७५, आईतवार
  • रिदम सिंह

चैनपुर । बझाङ सदरमुकाम चैनपुरमा रहेको मल्ल स्टोरमा आगलागी हुँदा झण्डै १५ लाख बराबरको क्षति भएको छ । नेपाल उद्योग बाणिज्य संघ बझाङ शाखाका पूर्व अध्यक्ष जगत मल्लको पसलको गोदाममा आगलागी हुँदा गोदाममा स्टोर गरि राखेका सबै सामानहरु जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताउनु भयो ।

स्टोर नजिकै रहेको पेट्रोलको ड्रमबाट जि.एस.टि.डि.एस. संस्था अन्तरगत पहलको बा ८३ प ६७९४ नम्बरको मोटर साईकलमा पेट्रोल भरेर ड्रमबाट पाईप निकाल्ने क्रममा ड्रमबाट अचानक आगलागी भएको डीएसपि धितालले बताउनु भयो । आगलागी कारण मोटरसाईकल समेत जलेको छ ।

आगलागीका कारण मल्ल स्टोरमा राखिएका दैनिक उपभोग्य बस्तुका सामानहरुका साथै चाउ चाउ विष्कुट, चुरोट, चिनी,तेल, डाल्डा, गुड, धुप मैनबत्ति, चामल, आँटा, आदि सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । यस्तै नजिकै रहेको चटकपुर प्लाजामा समेत क्षति पुगेको छ ।

नेपाली सेना , नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहायताले आगालगी नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV