६ माघ २०७५, आईतवार

काठमाडाैं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा १६ औँ चरणको अनशन बस्नुभएकाे डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । त्यस्तै डा. केसीविरूद्ध अनशन बस्नुभएको विजय थापाको समर्थनमा शिक्षण अस्पतालमा शनिबार नै प्रदर्शन भएको छ ।


डा. केसीको समर्थनमा प्रदर्शन

डा. केसीको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ ले माइतीघरमा प्रदर्शन गरेका हुन् भने, युवा विद्यार्थीहरूले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई हुबहु पारित गर्न मागसहित अनशन बसिरहनु भएकाे थापाको समर्थनमा शिक्षण अस्पतालमा प्रदर्शन गरेका हुन् ।

डा. केसीका समर्थकहरूले माइतीघर मण्डलाबाट शुरू गरेको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत गरेका थिए । डा. केसीका समर्थकहरूले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’, ‘नागरिक आवाज बन्द गर्न पाइँदैन, माफियामुखी चिकित्सा शिक्षा ऐन चाहिँदैन’, ‘तीन करोड नेपालीलाई धोका दिने कहिलेसम्म ?’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । उनीहरूले सरकार र मेडिकल माफिया विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।


विजय थापाको समर्थनमा शिक्षण अस्पतालमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाम पुगेर सत्याग्रहमा बस्नु भएकाे डा. केसीलाई सेनको हेलिकोप्टरमार्फत शुक्रबार बिहान तीन बजे नै काठमाडौं ल्याइएको थियो । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शुक्रबार बिहान हेलिकम्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनको अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

डा. गोविन्द केसीसँगै अनशन बस्नु भएकाे थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र इलाममा उपचार सम्भव नभएपछि उहाँलाई पनि सेनाकै हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो ।

दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ ल्याउने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको र त्यहीबेला डा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र सेनाको हेलिकाेप्टरबाट राति नै काठमाडौँ ल्याइएकाे थियाे ।

डा. केसीका १६ औं अनशनका मागहरू 

१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् ।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णयका बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम  लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्रा््ष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् । 

त्यस्तै थापाले डा. गोविन्द केसी र सरकारवीच भएको सम्झौता खारेज हुनुपर्ने माग गरेका छन् । उनले डा. केसीले अनसन बसेका बेलाको तलबभत्ता त्रिवि शिक्षण अस्पतालबाट लिए/नलिएको छानविन गरी तलब लिएको भए राज्यकोषमा फिर्ता गरिनुपर्ने माग राख्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV