
भक्तपुर – शैक्षिक प्रमाणपत्र धितो राखी ५ लाखसम्मको ऋण दिने भएको छ । भक्तपुर नगरपालिकाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी पाँच लाख रुपैयाँसम्मको ऋण दिने भएको हो । नगर पालिकाको चौंथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित गरेको हो । नगरपालिकामा स्थायी बसोबास गर्ने गरिब, जेहेनदार विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्मको ऋण दिने निर्णय गरेको हो ।
निर्देशिकामा नगरपालिकाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था समेत गरिएको छ । परिवार संख्या कम हुने विद्यार्थीलाई सम्बोधन गर्न निर्देशिकामा ‘सम्भव भएसम्म’ भन्ने वाक्यांश राखिएको छ ।
नगरप्रमुख सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरिब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ ल्याइएको बताए।