५ माघ २०७५, शनिबार

काठमाडौँ । नेपाली इन्जिनियरले विद्युत आयोजनाको जानकारीका लागि ‘अटोमेसिन’ अर्थात स्वचालित मेसिन निर्माण गरेका छन् । केन्द्रमै बसेर दुरदराजमा निर्माण भएका जलविद्युत आयोजनाबारे जानकारी लिन यो प्रविधि उपयुक्त हुने देखिन्छ ।

इन्जिनियरले काठमाडौंमै बसेर कुनैपनि आयोजना बन्द गर्न खोल्न मिल्ने प्रविधिको विकास गरेका छन् । तर यस्ता प्रविधि अहिलेसम्म सञ्चालनमा आएका कुनै पनि जलविद्युत आयोजनामा प्रयोग गरिएको छैन । यो ४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोशीको हो । यही दृश्यलाई कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थीले नक्सामा उतार्दै आयोजनाको सबै संरचना समेत तयार पारेका छन् । उनिहरुको यो मेहेनतलाई यतिबेला भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोमा राखिएको छ ।

विद्युत उत्पादन, यसका संरचना र कसरी विद्युत प्रसारण लाइनमा पठाउन सकिन्छ भन्ने ज्ञान धेरै नागरिकमा छैन् । यही ज्ञान बाँड्नका लागि विद्यार्थीले आफ्नो क्षमता सार्वजनिक गरेका हुन् । एक्स्पोमा नेपालका कुनै पनि जलविद्युतमा प्रयोग नभएका प्रविधि पनि राखिएका छन् । दुर्गममा निर्माण भएका दुई वा दुईभन्दा बढि आयोजनाको अवस्था, उत्पादन र बेला बेलामा आउने समस्याका बारे केन्द्रमै बसेर बुझ्न सकिने ‘रिमोर्ट कन्ट्रोल’को आकर्षण बढी रहेको छ ।

विद्यार्थीले तयार पारेको आयोजनाको ‘रिमोर्ट कन्ट्रोल’ प्रविधि लमजुङस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए मा जडान गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो प्रविधिमार्फत काठमाडौंमै बसेर मिटर रिडिङदेखि आयोजना बन्द गर्न खोल्न सकिनेछ । प्राधिकरणले निजी क्षेत्रका संचालित ७६ वटा आयोजनामा यो प्रविधि जडान गर्ने जनाएको छ ।

इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेका अपर तामाकोशी, कुलेखानी, बुढीगण्डकी, भेरी बबई डाइभर्सन, लघु जलविद्युत, सोलार प्लान्ट लगायतका संरचनामा सर्बसाधारणको आकर्षण पनि उत्तिकै छ । प्रविधिसहितको एक्स्पोले सर्वसाधारणमा नयाँ विषयको जानकारी प्रदान गरेको छ भने अर्कोतिर विद्यार्थीलाई सिक्ने अवसर पनि मिलेको छ । 

प्रतिक्रिया दिनुहोस्
LIVE TV