५ माघ २०७५, शनिबार

काठमाडौं । महिला टि–२० स्म्याशमा थाइल्याण्डसँग पराजित नेपाल उपविजेता बनेको छ ।

१ सय २२ रनको लक्ष्य पछ्याएको नेपाल ७० रनले पराजित भएको हो । १ सय २२ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको नेपालका कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सकेनन् ।

पहिलो ओभरमा नै ओपन काजल श्रेष्ठलाई गुमाएको नेपालले दोस्रो ओभरमा इन्दु वर्मालाई गुमाउन पुग्यो । लगातार विकेट पतनको शिकार बनेको नेपालका लागि नेरी थापा र सिता रानामगरले मात्र दोहोरो अंकको रन जोड्न सकका थिए ।

नेरीले १७ रन बनाएकी थिइन् भने सिताले १३ रन जोडिन् । नेपालका चार खेलाडीले खाता नै खोल्न सकेनन् । नेपाललाई कम स्कोरमा रोक्नका लागि सुलिपोर्न लाओमीले तीन विकेट लिइन् भने सोनार्नि टिपोचले दुई विकेट झारिन् ।

अघिल्ला खेलमा जस्तो दरिलो बलिङ गर्न नसक्दा थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १२१ रन बनायो । उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय योगदान दिइन् ।

उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् ।

सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो । तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV