५ माघ २०७५, शनिबार
  • राजु पौडेल

झापा । छोरी जन्मेपछि उनलाई ठुलो मान्छे बनाउने सपना बोकेर कमाउन मुग्लान पसेका सविनाको बुवा १३ वर्ष बितिसक्दा पनि फर्किएका छैन । न त मान्छे आए न त खबर नै आयो ।

बुवा नफर्किए पनि आमाको माया, ममतामा हुर्कँदै गरेकी सविनाको जीवनमा फेरि बज्रपात भयो । भएको एउटा साहारा आमालाई पनि दैवले हरेर लग्याे । उनि टुहुरो बनिन् उनी ।

झापाको मेचिनगर- ११ मा घर भएकी १३ वर्षीया सविना मेचेले भएको एउटा सहारा आमा पनि गुमाएपछि आफैँ आमाको काजकिरिया गर्न बसेकी छिन् ।

मुटुरोगबाट ग्रसित उनकी आमा शर्मिला मेचेको गत बिहीबार मत्यु भएकाे थियाे । किरिया बस्ने अरु काेही नभएपछि सविना आफैँ आमाको किरियामा बसेकी हुन् ।

‘बुवालाई कहिले देख्न पाइनँ, पैसा कमाउन भारत जानुभएको रे, आमाले पनि छोडेर जानुभयो,’ गहभरि अाँसु पार्दै उनले भनिन्, ‘अब कसकाे भरमा बाँच्ने हाेला, एक्लै बस्न सक्दिनँ हुँला ।’

खोलाको बगरमा ढुङ्गा टिपेर शर्मिलाले आफू र छोरीको गुजारा चलाएकी थिइन् । अरुकै जग्गामा एउटा झुप्रो बनाएर आमाछोरीको जीवन चलेको थियो । ‘मुटुको रोग लागेपछि मैले पनि ८ कक्षाबाटै पढाई छोडेर आमालाई सघाउथेँ अब’ सविना डाको छोडेर रुन थालिन् ।

मेचे समुदायमा नै महिला काजकिरियामा बसेको यो पहिलो पटक भएको सोही वार्डका वार्ड अध्यक्ष सन्तोष मेचेले बताए । उनका अनुसार मेचे संस्कार अनुसार आमा, बुवाको किरिया १३ दिनसम्म छोराले गर्ने चलन रहेको छ ।

परिवारमा अन्य सदस्य नभएकाले सविनाले आमाको काम गरेको अध्यक्ष मेचेले बताए । काजकिरिया खर्च जुटाउनका लागि नगरपालिकामा पहल गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV