गोर्खाली सेनाले मुसलमान फौजलाई हराएको स्मरणमा माघ १० गते विजयोत्सव



प्रकाशित मिति : Jan 19, 2019


प्रमुख अतिथिका लागि राष्ट्रपतिलाई अामन्त्रण

  • कृष्णराम परियार 

हेटौँडा । यही माघ १० गते मकवानपुरगढीमा विजयाेत्सव मनाइने भएकाे छ । तत्कालीन गोर्खाली सेनाले मुसलमान वंशका मिरकासिमको फौजलाई हराएको स्मरणमा साे विजयोत्सव आयाेजना गरिन लागेकाे हाे । 

विसं १८१९ माघ १० गते बङ्गालबाट आएका मुसलमान मिरकासिम नेतृत्वको फौजलाई गाेर्खाली सेनाले मकवानपुरगढी हराएको थियाे । साेही विजय दिनकाे उपलक्ष्यमा हाल प्रदेश नं ३ अन्तर्गत मकवानपुर जिल्लाको गढी गाउँपालिका–२ स्थित मकवानपुरगढी दरबार परिसरमा यही माघ १० गते सो विजयाेत्सव तथा विविध महोत्सव आयोजना गर्न लागिएको हो । 

तत्कालीन मकवानपुर राज्यलाई गोर्खाली फौजले विसं १८१९ भदौ ९ गते आक्रमण गरी आफ्नो अधिनमा लिएका थिए । मकवानपुरका अन्तिम सेन राजा तथा पृथ्वीनारायण शाहका जेठान दिगबन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँको आग्रहमा गोर्खाली सेनाविरुद्ध बङ्गालबाट आएका मुसलमानी सेनालाई विसं १८१९ माघ १० गते परास्त गरी भगाएको सम्झनामा केही वर्ष अघिदेखि यहाँ नेपाली सेनासहित नागरिक समाजले विजयोत्सव मनाउने गरेको उक्त गढीको अध्येता समाजसेवीद्वय केदार न्यौपाने र वकिलराज बानियाँकाे भनाइ छ ।

नवाब मिरकासिमले गुरगिन खाँको नेतृत्वमा मकवानपुरमा हमला गर्न पठाएको करीब दुई हजार मुगल सेनको फौजलाई सेनापति वंशराज पाण्डे, केशरसिंह बस्नेत र रामकृष्ण कुँवरको नेतृत्वको फौजले बहादुरीका साथ आक्रमण गरी पराजित गरेको र गढी दरबारको सुरक्षाका लागि वरिपरि ढुङ्गाको पर्खाल लगाएर बाहिरबाट आएका फौजले त्यहाँभित्रको गतिविधि निगरानी गर्न नसक्ने तुल्याइएको अर्का समाजसेवी केदार न्यौपाने बताउँछन् ।

राष्ट्रपति प्रमुख अतिथि

विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिको रूपमा अामन्त्रण गरिएको छ । 

विजयोत्सवमा गढी परिसरमा राष्ट्रिय झण्डोतोलन गरिने, सातै प्रदेशको महत्व झल्किने नक्सा पनि राखिने भएको छ । शनिबार हेटौँडाको बुद्धचोकबाट गढी दरबारसम्म करीब १६ किलोमिटरसम्म साइकल -याली गरिने ९ गते किलोमिटर म्याराथुन दौड आयोजना गरिने गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिए ।

एेतिहासिक मुकुन्दपुर

तत्कालीन मकवानपुर राज्यअन्तर्गत सेन वंशका राजाले १३औँ शताब्दीको शुरुतिर यहाँ शासन गरेको थिए । सेन वंशका राजा मुकुन्द सेनको नामबाट ‘मुकुन्दपुर’, ‘माकन्दपुर’, ‘मुकुनपुर’बाट अपभ्रश हुँदै ‘मकवानपुर’ नामाकरण भएको इतिहासमा उल्लेख छ ।

सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिगबन्धन सेनसम्मका दश पुस्ताले करीब ३०० वर्षसम्म यहाँ शासन गरेका थिए ।

Image result for मकवानपुरगढी विजयोत्सव

मकवानपुर राज्यको सिमाना पूर्वमा बराह क्षेत्र र जलपाइगुढी भारत, पश्चिममा रुरु क्षेत्र, पाल्पा, गुल्मी र उत्तरमा मुक्तिक्षेत्र र दक्षिणमा मुगल राज्यको बङ्गाल सिमाना पर्दथ्यो । जहाँ अहिलेका २२ जिल्ला समेटिएका थिए । 

मकवानपुरगढी दरबार क्षेत्र हेटौँडाको बुद्धचोकदेखि गढी दरबारसम्म १६ किलोमिटर टाढा पर्दछ । सो स्थल समुद्र सतहदेखि करीब एक हजार १७ मिटर उचाइमा रहेको मकवानपुर जिल्ला समन्वय समितिका अधिकृत रामकृष्ण थापाको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com