आफैँले कार चलाउँदा दुर्घटनामा परेका ९७ बर्षका फिलिपको सकुशल उद्धार



प्रकाशित मिति : Jan 18, 2019

लण्डन । उमेरले झण्डै सय बर्षको हाराहारीमा पुग्नुभएका राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ तर उहाँले अझै पनि गाडी चलाउनु हुन्छ । ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षको हुनुभयो । उहाँले गाडी हाँक्न छोड्नु भएको छैन ।

तर बिहीवार उहाँले चलाइरहेको ल्यान्ड रोभर गाडी क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ ।
दुर्घटनामा उहाँलाई कुनै चोटपटक लागेन । तर घटनापछि उहाँ निकै आत्तिएको भने बताइएको छ । स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्वे बाट निकाल्दै ए १४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो ।

अकस्मात उहाँको जीप अर्को किया कारसँग ठोकिन पुग्यो । घटनामा कारमा रहेका दुई महिलालाई सामान्य चोट लागेको तर उनीहरूलाई तत्काल अस्पतालमा उपचारपछि घर पठाइएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएपछि केही मानिसले उहाँलाई कारबाट निकाले ।
“कारबाट उद्धार गर्दा राजकुमारले होस गुमाउनुभएको थिएन तर निकै त्रसित अवस्थामा हुनुहुन्थ्यो, ”प्रत्यक्ष्यदर्शीले बताए ।
स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो । तर परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन गरेका थिएनन् ।

आफैँ गाडी नहाँक्न दिइएका सुझाव उहाँले पटक्कै स्वीकार्नुभएको थिएन । तर यो घटनाले उहाँलाई झस्काएको हुनुपर्छ ।
राजकुमार फिलिपले सन् २०१७ को अगस्ट महिनामा सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो । दुर्घटनापछि सामाजिक सञ्जालमा विश्वभरबाट वयोवृद्ध व्यक्तिले गाडी नचलाउनु नै राम्रो हुने सुझाबसहित आफ्ना विचारहरू व्यक्त गरेका छन् । तर उक्त विचारसहित कम उमेरका व्यक्तिलाई गाडी चलाउँन दिने कुरालाई गलत नै भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com