काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पो, लगानी र प्रविधि भित्र्याउने प्रयास



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । जलविद्युत क्षेत्रमा लगानी र प्रविधि भित्र्याउन काठमाडौंमा ३ दिने एक्स्पो आयोजना गरिएको छ । डेढ बर्षको अवधिमा २ हजार ५ सय मेगावाटका आयोजना निर्माणका लागि ५ खर्बको लगानी सुनिश्चित पनि भइसकेको छ । तर कानुन, इच्छाशक्ति र दक्षता अभावमा जलविद्युत क्षेत्रको विकास भने धिमा नै छ ।

पछिल्लो डेढ बर्षयता जलविद्युत क्षेत्रमा निजी लगानी बढेसँगै आयोजना निर्माणले पनि तीब्रता पाएको छ । तथ्यांकअनुसार मुलुकभित्रको जलविद्युतमा डेढ बर्षको अवधिमा मात्रै ५ खर्ब लगानी सुनिश्चित भएको छ । लगानी सुनिश्चित भएका आयोजनाको जडित क्षमता २ हजार ५ सय मेगावाट छ । सरकारले १० बर्षमा १५ हजार मेगावाट उत्पादनको लक्ष्य लिएका बेला लगानी प्रोत्साहित हुन सकारात्मक हो । तर कानून, इच्छाशक्ति र दक्षता अभावका कारण मुलुकभित्र जलविद्युतको विकास भने कछुवा गतिमै छ ।

विद्युत खरीद–बिक्रि सम्झौता (पीपीए) भइसकेका करिब ३ हजार मेगावाटका आयोजना लगानी कै अभावमा थलिएका छन् । यि सबै आयोजना निर्माणका लागि ६ खर्ब आवश्यक पर्छ । लगानी अभावमा निर्माणमा नगएका आयोजनामा लगानी जुटाउन र प्रविधीबारे जानकारी दिन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गर्ने इपानको निष्कर्ष छ । कानुनी उल्झन र स्थानीय समस्या जलविद्युत आयोजना निर्माणको मुख्य बाधक हो । सरकारले पनि निजी क्षेत्रलाई ध्यानमा राख्दै १५ हजार मेगावाटको लक्ष्य पूरा गर्न ‘टेक अर पे’ मा विद्युत खरिदको नीति लिएको छ । यो व्यवस्थाले निजी प्रवद्र्धकलाई लगानीका लागि वातावरण मिलेको छ ।

अहिले जलविद्युत उत्पादनमा सरकारभन्दा निजी क्षेत्र नै अघि छ । निजी क्षेत्रले ५ सय ११ मेगावाट विद्युत उत्पादन गरिसकेको अवस्थामा अझैं राज्यले बेवास्ता गर्नु दुख्द भएको गुनासो गर्दै निजी लगानीलाई आकर्षित गर्न सरकारले भ्याट फिर्ता गर्नुपर्ने लगानीकर्ताको माग छ । सरकारले आफूले लिएको लक्ष्यलाई पूरा गर्न आवश्यक कानूनको परमार्जन गर्न आवश्यक छ । ३ दिनसम्म चल्ने हिमालयन हाइड्रो एक्स्पोमा विदेशी लगनाीकर्ताको समेत सहभागिता रहेको छ भने आयोजना निर्माणमा प्रयोग प्रविधीको समेत सहभागिता छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com