भाडा तिर्न नसक्दा काठमाडौं क्षेत्रपाटीको परिवार कल्याण केन्द्रमा लाग्यो ताला



प्रकाशित मिति : Jan 18, 2019
  • रिया भण्डारी

काठमाडौँ । सरकारी स्वास्थ्य संस्था कति अव्यवस्थित रुपमा सञ्चालित छन् भन्ने एउटा उदाहरण हो– क्षेत्रपाटी परिवार कल्याण केन्द्र । मासिक १ लाख २५ हजार भाडा तिर्ने गरी सञ्चालित यो केन्द्रमा अहिले ताला लागेको छ । बढाएको भाडा तिर्न नसकेपछि घरबेटीले केन्द्रमै ताला लगाइ दिएका हुन् ।

यो क्षेत्रपाटी परिवार कल्याण केन्द्र रहेको घर । केन्द्रको बोर्डसँगै भवन भाडामा रहेको सूचना छ । शुक्रवार हामी पुग्दा संधै भीडभाड हुने यो स्वास्थ्य केन्द्र सुनसान थियो । प्रशासन रहेको तेस्रो तल्लाका सामान बाहिर निकालिएको थियो । प्रयोगशाला र निर्देशकको कोठामा ताला लगाइएको थियो । केन्द्रकी निर्देशक डा. जस्मिन श्रेष्ठ समान नै सामान कोचिएको सानो कोठामा काम गर्दै थिइन् । यो सबै भद्रगोलको कारण हो– केन्द्रले बढाएको भाडा तिर्न नसक्नु । भाडा तिर्न नसकेपछि घरबेटीले ताला लगाइदिए ।

मासिक १ लाख २५ हजार तिर्ने गरी तीन तला भाडामा लिएर केन्द्र सञ्चालन गरिएको थियो । तर, अचानक घरधनी प्रदीप मानन्धरले भाडा दुई लाख पु¥याए । भाडा बढेको सूचना स्वास्थ्य मन्त्रालयमा पु¥याइयो । तर, सहयोग भएन । परिणामत घरबेटीले ताला लगाइदिए । स्वास्थ्य मन्त्रालयको परिवार माहाशाखा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंअन्तर्गत सञ्चालित यो केन्द्रमा १० रुपयाँको टिकट काटेर आधारभूत स्वास्थ्य परीक्षण गराउने सुविधा छ । गर्भवती जाँच, बालबालिकालाई खोप, बन्ध्याकरण, परिवार नियोजनको साधनबारे परामर्शलगायत सामान्य बिरामीको जाँच निशुल्क हुन्छ । ल्याब शुल्क पनि न्यून छ । ताला लगाइएका कारण केन्द्रले अहिले यि सेवा दिन सकेको छैन । काठमाडौं महानगरपालिकाको १८ नम्बर वडामा पर्ने यो केन्द्रमा ताला लगाइएको बारे सम्बन्धित वडा कार्यालय भने बेखबर रहेछ ।

नागरिकलार्ई निःशुल्क सेवा प्रदान गर्ने काठमाडौंकै सरकारी स्वास्थ्य केन्द्रको यो दुरावस्था साँच्चै टिठलाग्दो छ । जसप्रति सरकारी निकायको बेलैमा ध्यान जान आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com