संवैधानिक परिषदको बैठक स्थगित



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने विषयमा बसेको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा परिषदको बैठक स्थगित भएको हो । यसअघि, प्रधानमन्त्रीको व्यस्तताले स्थगित हुँदै आएको बैठक आज पनि स्थगित भएकाले आइतबार पुनः बैठक बोलाइएको छ ।

संविधान अनुसार गठन गरिएको १२ वटा संवैधानिक आयोगमध्ये हालसम्म अधिकांश आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैन भने केही आयोग गठन गर्नै बाँकी छ । पदाधिकारी नियुक्त हुन नसक्दा स्थानीय तह देखि प्रदेशसम्म समस्या उत्पन्न हुँदै आएको छ । संघीय संरचनामा बजेट बाँडफाँटको जिम्मा पाएको वित्त आयोग रिक्त छ । त्यस्तै, राष्ट्रिय महिला आयोग पनि लामो समयदेखि पदाधिकारीविहीन छ ।

यसअघिका पदाधिकारीको कार्यकाल सकिएपछि अध्यक्षसहित सदस्यको पद रिक्त छ भने राष्ट्रिय दलित आयोग पनि विगत डेढ वर्षदेखि अध्यक्षविहीन रहँदै आएको छ । यस्तै, सरकारले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग, मुस्लिम आयोग गठन गर्न बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com