सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन धनगढीमा शुरु



धनगढी – सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार देखि शुरु भएको छ । प्रदेश सभा भवन धनगढीमा शुरु भएको बैठकको प्रारम्भमा दिइएको विषेश समयमा बोल्ने सत्ता पक्ष र प्रतिपक्षका सदस्यले सङ्घीयता कार्यान्वयन र प्रदेशको समृद्धिका लागि देखिएका कमीकमजोरी एवं ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रतिपक्ष नेपाली काङ्ग्रेसका डा रणबहादुर रावल र भरतबहादुर खड्काले प्रदेश सभा बैठक ‘बिजनेस’ विहीन भएकाले जनतामा निराशा छाएको भन्दै प्रदेश सरकार समयमै गम्भीर बन्न जरुरी रहेको बताउनुभयो । सङ्घीयतालाई सफल बनाउनुको विकल्प नरहेको भन्दै उहाँहरुले सच्चिएर अगाडि बढ्न नसकेमा दूरगामी प्रभाव पार्नेतर्फ सचेत गराउनुभयो ।

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाका तारालामा तामाङ, वीरमान चौधरी र मानबहादुर धामीले सङ्घीय व्यवस्थालाई कार्यान्वयन गर्न देखिएका कमीकमजोरीको सुधार गर्न सबैबाट आ–आफ्नो भूमिका निर्वाह हुनुपर्ने बताउनुभयो ।

सत्ता पक्ष र प्रतिपक्षबीच सहकार्य गरेर अघि बढ्न सके राजनीतिक परिवर्तनको सार्थकता रहने भन्दै उहाँहरुले बदलिँदो परिवेशमा कर्मचारी अभाव लगायतका कठिनाइका कारण सरकारले सोचेअनुसार धेरै काम गर्न नसकेको विषलाई ठूलो मुद्दा नबनाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारूले बलात्कार हत्याजस्ता आपराधिक घटना बढ्दै गए पनि सरकारले सुरक्षा दिन नसकेको आरोप लगाउनुभयो । बैठकमा बोल्ने प्रतिपक्षका सदस्यले सूचना माग गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही दिनअघि पुगेका दुई जना पत्रकारमाथि कार्यालयका प्रमुख सचिवबाट दुव्र्यवहार भएको भन्दै उक्त घटनाको विरोध जनाउनुभयो । उहाँहरुले पत्रकारलाई सूचनाको हक पाउने अधिकारबाट वञ्चित नगर्न आग्रह गर्नुभयो ।

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोराबारे जानकारी गराउनुभएको थियो । अर्को बैठक यही माघ ११ गते बस्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com