प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ : डा. राजन भट्टराई



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा डा. भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साक्षात्कारमा उहाँले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक पोलिसी पनि शेयर गर्ने जनाउनु भयो । उहाँले भन्नुभयो,‘नेपालमा अहिले राजनीतिक स्थायित्व भएको छ ।

अब आर्थिक विकास र समृद्धिलाई बढावा दिईरहेका छौं भनेर उहाँले आफ्नो धारणा राख्नुहुनेछ ।’
मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पुरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने उहाँको भनाई छ ।

विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने विश्वास भट्टराईले व्यक्त गनुृभयो ।

उहाँका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण प्यानलमा प्रमुक्त वक्ताको रुपमा बोल्ने कार्यक्रम तय भएको छ । उहाँले अगाडि भन्नुभयो,‘हाम्रो प्रधानमन्त्रीले स्टा«टेजी आउटलुक अन साउथ एशियामा पनि बोल्नुहुन्छ ।

अर्को, सेपिङ द फ्युचर अफ डेमोक्रेसी भन्ने प्यानलमा पनि भाग लिनुहुनेछ । त्यस्तै, उहाँले जि–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरु सम्मिलित हुने प्यानलमा पनि वक्ताको रुपमा सहभागी जनाउनुहुनेछ ।’

यसका अलावा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्री र ईजरायलका धानमन्त्रीसँगपनि साईडलाईन भेटवार्ता गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो ।

घोर पुँजीवादीहरु आउने कार्यक्रममा प्रधानमन्त्री: डा.गोविन्दराज पोखरेल

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री ओली उक्त सम्मेलनमा भाग लिन जानु खुशीको कुरा भएको बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो ,‘उहाँको पार्टीले जे जस्तो नीति लिएपनि, उहाँ घोर पुँजीवादीहरु आउने फोरममा सहभागी हुन जाँदै हुनुहुन्छ, यो राम्रो कुरा हो ।’

मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ ।

माक्र्सवादी र लेनीनवादी मार्गदर्शन बोकेको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुँजीवादको सम्मेलनमा जानु खुशीको कुरा भएको बताउँदै उहाँले मुलुकको पुँजीवादको विकासमा सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“विश्वका दुई÷चारवटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सकेमात्र पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ । एप्पल र सामसुङजस्तो बहुअन्तर्राष्ट्रिय कम्पनी नेपाल ल्याउन सके अन्य लगानीकर्ता आँफै आउँछन् ।”

नेपालको छवि ‘करेक्शन’ गर्ने अवसर: हरिभक्त शर्मा
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली यसरी सम्मेलनमा भाग लिन जानु नेपालको लागि अवसरको विषय भएको बताउनुभयो । उहाँले डाबस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने सुझाव दिनुभयो ।

शर्माले भन्नुभयो,‘यो नेपाललाई चिनाउने अर्को ठूलो अवसर हो । प्रधानमन्त्री यो फोरममा गएर बोल्दा नेपालमा धेरै लगानीकर्ता आकर्षण गर्न सक्नुपर्छ ।’

सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख पनि शर्माको धारणा छ ।

लगानी भित्र्याउनका लागि चाहिने आवश्यक ऐन कानुनलाई परिमार्जन गर्नुपर्ने उहाँको भनाई थियो । शर्माले नेपालमा लगानीयोग्य वातावरण बनाउँछौं भनेर विश्वस्त तुलाउनुपर्ने धारणा पनि राख्नुभयो ।

अन्तर्राष्ट्रिय रुपमा नेपालको छबि घट्दै गएको सुनाउँदै उहाँले प्रधानमन्त्रीको यो भ्रमणले करेक्शन गर्ने अवसर भएको पनि प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्रीको भनाइ र गराईमा फरक नहोस् : डा.शम्भुराम सिम्खडा

स्वीट्जरल्याण्डका लागि पूर्व नेपाली राजदूत डा. शम्भुराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भएपनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।

विश्वका अन्य मुलुकबाट पाठ सिकेर नेपालले विकासलाई अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो,‘नेपालको प्रधानमन्त्री पहिलोपटक सम्मेलनमा सहभागी हुन जाँदै हुनुहुन्छ। यो खुशीको कुरा हो ।’

सिम्खडाले प्रधानमन्त्रीको भनाई र गराईमा फरक देखिन नहुने धारणा राखे । उहाँले भन्नुभयो,‘भनाई र गराईमा एकरुपता हुनुपर्छ ।’ त्यस्तै उनले नेपालले कुटनीतिक क्षेत्रमा आफ्नो परिपक्वता देखाउनुपर्ने पनि धारणा राख्नु भयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com