सुरु भयो फेरी प्रदेशको विवाद : नेवा तामसालिङ नाम हुनु पर्ने भन्दै हेटौंडामा दबाब



देवराज पन्त
हेटौंडा प्रदेश नम्बर ३ को नामाकरण बहुपहिचानको आधारमा नै हुनु पर्ने भन्दै हेटौंडामा नागरिक दबाब सभा भएको छ । नेवा ताम्सालिङ समन्वय समिति मकवानपुरले ३ नम्बर प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ हुनुपर्ने माग गर्दै हेटौंडामा नागरिक दबाब सभाको आयोजना गरेको हो । समितिले प्रदेश ३ मा नेवार र तामाङ जातिको बाहुल्यता रहेको र जनजातिहरुको पहिचान सुरक्षित गर्न प्रदेशको नाम नेवा तामसालिङ’ नै हुनु पर्ने उनीहरुको माग रहेको छ ।

नेवा ताम्सालिङ समन्वय समिति मकवानपुरका संयोजक यज्ञश्वर श्रेष्ठको अध्यक्षतामा भएको दबाब सभामा प्रदेश सभाका सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी मगर, शान्ति पाख्रिन, पूर्व राज्यमन्त्री दिलिप महर्जन, आदिबासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, पूर्व अध्यक्ष पर्शुराम तामाङ, महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, प्रर्व राजदुत कमानसिंह लामा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रदेश भित्रका शैक्षिक संस्थाहरुमा मातृभाषाको पनि अध्यापन हुनुपर्ने, सरकारी कामकाजमा नेपाली बाहेक नेवारी तथा तामाङ भाषा पनि रहनु पर्ने उनीहरुले माग गरेका छन् । गणतन्त्र प्राप्तीमा जनजातिको विशेष प्रमुख भूमिका रहेको भएपनि राज्य व्यवस्थाले आफूहरुलाई ठगेको उनीहरुले आरोप लगाएका छन् ।

हेटौंडाको फरेष्ट्री क्याम्पस गेटबाट सुरु भएको र्याली बुद्धचोकमा पुगी सभामा परिणत भएको थियो । प्रदर्शनमा जनजाति निकट विभिन्न संघ संगठनका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सभामा जनजातिहरुका साँस्कृतिक कार्यक्रम, भेषभुषा प्रदर्शन गरिएको थियो । जनगणना अनुसार नेपालमा ३७ प्रतिशत जनजाति रहेका छन् ।

जातजातिको आधारमा प्रदेशको नामाकरण गर्दा जातीय बैमनस्यता हुने भन्दै विवाद भएपछि तत्कालिन सरकारले पछि प्रदेश संसदबाट निर्णय हुनेगरी सात प्रदेशको नाम अंकको आधारमा गरेको थियो । ३ नम्बर प्रदेशको स्थायी राजधानी तथा नामाकरणको निर्णय गर्न हालसम्म बाँकी नै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com