एक साउदी युवतीको साहस : म साउदी अरेबियाबाट कसरी भागे ?



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौं । रहफ मोहम्मद अल कुननको विषयले विश्वभरका मानिसहरुको ध्यान खिचेपछि साउदी अरेबियामा महिलाहरुको हैसियत के छ बुझ्न गाह्रो पर्दैन । साउदीबाट भागेर बैंकक पुग्दा आफ्नो जीवन लगभग गुमाइसकेकी १८ बर्षीया कुननले थुनामा राखिएको ठाउँबाट नै सामाजिक सञ्जालबाट जीवन रक्षाको अपील गरेपछि उनको पक्षमा विश्व जनमत उत्रिएपछि साउदी सरकार निरीह बन्यो ।

कुननलाई शरणार्थीकोरुपमा स्वीकार्ने क्यानडाको निर्णयपछि उनी अहिले क्यानडामा नयाँ जीवन जिउन सुरु गरिसकेकी छिन् । तर कुनन मात्र नभई केही साउदी युवतीहरुले केही महिना अघि भागेर क्यानडा पुगेको साहसिलो कथाहरु पनि सार्वजनिक हुन थालेको छ । खाडी मुलुक साउदीमा महिलाले भोग्दै आएको सास्ती यही घटनाहरुले छर्लङ्ग पार्छन । २४ बर्षीया सल्वा र उनकी १९ बर्षीया वहिनी अहिले क्यानडामा रमाइरहेका छन् । आठ महिना अघि साहसिलो कदम चालेर साउदीबाट भागेका यी दिदीबहिनी अहिले क्यानडाको मन्ट्रियलमा बस्दै आएका छन् ।


यी दुई दिदीबहिनीले करीब छ बर्ष अघिदेखि भाग्नका लागि प्रयास गरिरहेका थिए । तर यस्को लागि उनीहरुलाई राष्ट्रिय परिचय पत्र र राहदानी आवश्यक थियो । यी दुबै दस्ताबेजका लागि उनीहरुलाई उनीहरुका अभिभावकको सहमति आवश्यक थियो । तर विश्व विद्यालय पढ्न थालेदेखि परिवारले राष्ट्रिय परिचयपत्र बनाउन अनुमति दिएपछि दुबैले यो सुविधा लिए भने अंग्रेजी परीक्षा दिनका लागि यिनीहरुले राहदानीको सुविधा पनि सहजै पाए । तर यो दुबै सुविधा उनीहरुका अभिभावकले आफ्नो कब्जामा राखेका थिए । जब यिनीहरुले आफुहरुको भाग्ने योजनालाई मुर्तरुप दिने प्रयासलाई अघि बढाए । त्यतिखेर दुबैले साहससंगै गोप्य कदमलाई अघि बढाए ।

‘मैले मेरो भाईसंग भएको घरको चाबी चोरेर त्यस्को नक्कली अर्को चाबी बनाउन सफल भए , परिवारका सबै सदस्य सुतिरहेको समयमा मैले यो काम गर्न भ्याएको थिए’ दिदी सल्वाले बीबीसीलाई बताइन । त्यस्को अर्को दिन उनीहरुले उनीहरुको बुबा सुतिरहेको वखत राहदानी र बुबाको मोबाइल फोन चोर्न सफल भए । तर यही कदम चालिरहदा परिवारको कुनै सदस्यले थाहा पाएको भएको उनीहरुको जीवनमा जे पनि हुन सक्थ्यो । मोबाइल फोनबाट सल्वाले गृहमन्त्रालयको बेभसाइट खोलेर बुबाको एकाउण्ट हटाई त्यस्मा रहेको दर्ता नम्बर परिवर्तन गरी आफ्नो नम्बर हालिन । त्यसैबाट उनले परिवारको अनुमतिमा दुबई छोड्ने सहमति लिन सफल भइन ।

त्यस राति नै उनीहरु घर छोडेर भाग्दै ट्याक्सी लिएर रियाद स्थित खालिद अन्तर्राष्ट्रिय विमानस्थल पुगे । त्यसवखत कुनै गल्ती भएर उनीहरु पक्राउ परेको भए दुबैको हत्या हुने निश्चित थियो – सल्वाले लामो स्वास लिदै कथा सुनाईन । कलेजको अन्तिम बर्षमा अस्पतालमा काम गर्दा कमाएको रकम र बेरोजगार हुँदा पाएको भत्ता सल्वाले जोगाएर राखेकी थिइन् , जस्को सहयोगमा उनले जर्मनीसम्मको हवाई टिकट र ट्रान्जिट भिषाको व्यवस्था गर्न सफल भएकी थिइन् । दुबै दिदीबहिनीहरु पहिलो पटक हवाईजहाजमा चढिरहेका थिए , जसबेला उनीहरुले रोमाञ्चकतासहित तनाव र त्रासको पनि उत्तिकै सामना गरिरहनु परेको थियो । यो सबै थाहा पाएर उनीहरुको पिताले प्रहरीलाई खबर गरे तर खबर गर्दा धेरै ढिलाई भइसकेको थियो ।

गृहमन्त्रालयको वेभसाइटमा नम्बर परिवर्तन गरेकोले प्रहरीले उनीहरुको बुबालाई गरेको सबै खबर सल्वाको मोबाइलमा पुग्थ्यो । ‘साउदी अरेबियामा महिलाको जीवनको कुनै मूल्य नै हुँदैन, घरबाट विश्वविद्यालय र विश्वविद्यालयबाट घर बस, त्यसमाथि राज्यले लगाएको केही काम पनि तोकेको ठाउँमा गएर गर्नुपर्ने पूरै निगरानीमा ’ सल्वाको आँशुसहितका शब्द हुन यी । ‘महिला अर्थात किशोरीहरुलाई यो मात्र पढाइन्छ र सिकाइन्छ , पुरुष उनीहरु भन्दा जहिले पनि माथि हुन , रमजानमा रोजा बस्न बाध्य बनाइन्छ ’ सिल्वाले अगाडि भनिन ।

जर्मनी उत्रिएपछि यी दुबै दिदीबहिनी एक वकिलसमक्ष पुगे । वकिललाई उनीहरुले आफ्नो वृतान्त सबै बताएपछि मानव अधिकारको मामिलामा उदार मानिएको मुलुक क्यानडा जान चाहेको बताए । उनीहरुको आवेदन स्वीकार गरियो र उनीहरुका लागि क्यानडा उड्ने बाटो सफा भयो । म आज क्यानडाको मन्ट्रियलमा छु र यहाँ म स्वतन्त्र छु , म र मेरो बहिनीलाई केही गर्न कसैले पनि कर लगाउँदैनन नत कसैको डर धम्की नै छ’ सल्वाले भनिन ।

‘हुन सक्छ साउदी अरेबियामा बढी पैसा हुन सक्छ तर क्यानडामा पाएको स्वतन्त्रता भन्दा ठूलो अर्को केही छैन् , हामी जतिखेर पनि अपार्टमेन्टबाट निस्कन सक्छौ, जस्का लागि कसैको अनुमति लिन आवश्यक छैन र रोजेको र चाहेको लुगा लगाउन सक्छौ, कसैले रोकटोक गर्दैन ’ सल्वाले भनिन । बास्तवमा स्वतन्त्रता भन्दा मिठो र प्रिय वस्तु अर्को हुँदैन पनि । साउदी किशोरीहरुको अनुहारमा देखिएको सन्तुष्टिले पनि यही झल्काइरहेको छ ।
बीबीसीबाट


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com