डा.केसीको मागमा ऐक्यबद्धता र कालोधनको थप खोजीमा विवेकशील नेपाली दल



प्रकाशित मिति : Jan 18, 2019

काठमाण्डौं । केही दिन अघि विवेकशील साझा पार्टीसंग विभाजित भएको विवेकशील नेपाली दलले मुलुकको समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ । विवेकशील नेपाली दलले एक बिज्ञप्ति निकाल्दै मुलुकको पछिल्ला दुई मुख्य बिषय डाक्टर गोविन्द केसीको १६ औं आशन र स्विस बैंकमा थुपारिएको कालो धनबारे पार्टीले धारणा राखेको हो ।

बिशेषगरी डा गोविन्द केसीलाई सरकारले सोह्रौं अनशन बस्न बाध्य बनाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार आफैंले यस अगाडि १५ औं सत्याग्रहका बेला डा केसीसित गरेको सम्झौता कार्यान्वयन नगरेका कारण यो अवस्था आएको औंल्याउँदै उनको जीवन रक्षाका लागि कुनै पहल नगरेर सरकार गैर–जिम्मेवारी बनेको उसको आरोप छ ।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रको विकास र सुधार गर्नु राज्यकै जिम्मेवारी भएपनि यो बिषयमा संवेदनहीनता देखाउँदै केसीको मागप्रति उदाशिनता देखिनु दुःखद भएको बिज्ञप्तिमा उल्लेख गरेको छ । केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिनुपर्ने भन्दै सो को पालना गरेमात्रै अहिलेको समस्या सावधान हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै सरकार केसीको मागमा अझै मौन बस्ने, आफैंले गरेको सम्झौता कुल्चने र डा केसीको स्वास्थ्य जोखिम भए आफ्नो पार्टीले सरकारलाई दबाबका लागि हदैसम्मका विरोध कार्यक्रमहरु ल्याउन विवेकशील नेपाली दल बाध्य हुने चेतावनी समेत दिएको छ । उसले डा केसीको सत्याग्रहलाई साथ दिन माघ ५ गते शनिवार माईतीघर मण्डलामा शान्तिपूर्ण दवाव कार्यक्रममा गर्ने पनि गर्ने जानकारी दिएको छ ।

त्यस्तै खोज पत्रकारिता केन्द्र (खोपके)ले भर्खरै पत्ता लगाएकोस्विस बैङ्कमा नेपालीहरुको ५२ अर्बभन्दा बढी रकम रहेको विषयमा पनि विवेकशीलले आपत्ति जनाएको छ । पत्रकारिता रिपोर्टको अनुसार ५५ जना नेपालीहरूले ५२ अर्बभन्दा बढी विदेशमा लगानी गरेको देखाएको थियो ।

भ्रष्ट्राचार विरोधी अभियानमा निरन्तर लागेको खोपकेलाई धन्यबाद दिँदै स्विस बैङ्कमा जम्मा भएको रकममाथि छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारलाई माग गरेको छ ।

सुशासन पक्षधर सबै व्यक्ति र शक्तिहरूसँग मिलेर विवेकशील नेपाली दलले देशभर अभियान चलाउने जनाउदै विदेशमा लगानी गरेको भनिएका नेपालीहरूका बारे पनि आवश्यक छानविन गरी कानुन बमोजिम कार्वाही गर्न माग गरेको छ ।

कालो धनलाई सेतो बनाउने कार्यमा संलग्न हुने र तिनलाई संरक्षण प्रदान गर्ने सबैलाई आम नागरिकले चिन्नु पर्ने बिज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com