११ करोडमा बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाइने



प्रकाशित मिति : Jan 18, 2019

बागलुङ । बागलुङमा बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने भएको छ । ४० रोपनी भन्दा बढी क्षेत्रफलमा रङ्शाला बनाउने भएको हो । बागलुङ नगरपालिका र जिल्ला खेलकूद विकास समिति मिलेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारेका छन् ।

रङ्गशालामा चाहिने पूर्वाधार निर्माणको लागि रु ११ करोड लागत अनुमान गरिएको छ । रङ्गशालामा प्यारापिट, फुटबल, टेनिस मैदान, टिकट कक्ष, शौचालय, पार्किङलगायतका संरचना बन्ने छन् । रङ्गशाला निर्माणमा पूँजीगत अनुदान स्वीकृतिका लागि गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयमा ‘डिपिआर’ बुझाइएको छ । आवश्यक मापदण्ड र प्रक्रिया पु¥याएपछि अनुदान स्वीकृत हुनेछ । नगरपालिकामा एक रङ्गशाला र गाउँपालिकामा एक खेल मैदान निर्माण गर्ने प्रदेश सरकारको नीति छ ।

बाङ्गेचौरलाई प्रदेशकै नमूना रङ्गशालाको रुपमा विकास गर्न नगरपालिका आफैले पनि लगानी बढाउनेछ । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारले खेलकूद क्षेत्रको विकासमा रङ्गशाला कोशेढुङ्गा बन्ने बताउनुभयो ।परियारका अनुसार पाँच वर्षभित्र पूर्वाधारको काम सक्ने लक्ष्य बनाएको छ । रङ्गशाला निर्माणका लागि चाहिने थप जग्गा व्यवस्थापनका लागि समेत पहल भइरहेको छ । पूर्वाधार बनाउँदा हाल रहेको ४० रोपनी बाहेक थप जग्गा चाहिने अनुमान छ ।

लागत पनि प्रतिवदेनमा अनुमान गरिएभन्दा बढी हुनसक्ने जनाइएको छ । रामरेखा सामुदायिक वन उपभोक्ता समूह र वडा कार्यालय जग्गा उपलब्ध गराउन तयार छन् । बाङ्गेचौर सदरमुकाममा रहेको एकमात्र खेल मैदान हो । फुटबल खेलको लागि मापदण्डयुक्त जिल्लाकै एकमात्र खेल मैदान भएका कारण बाङ्गेचौरको विकासमा सबैको चासो छ । पछिल्लो समय यहाँ फुटबल, क्रिकेट लगायतका प्रतियोगिता नियमित हुन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com