केसीकाे अनशनप्रति प्रधानमन्त्रीकाे कटाक्ष- ‘प्रणाली र प्रक्रियाभन्दा बाहिर गएर आफूलाई ‘सुप्रिम’ छु भन्न कसैले मिल्दैन’



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा गाेविन्द केसीको अनशन संसदीय सर्वाेच्चतासँग जोडिएको प्रश्न रहेकाे बताउनुभएकाे छ । उहाँले कुनै व्यक्ति विशेषको अनशन सर्वाेपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयाे ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे राख्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले संसद्को सर्वाेच्चता र संसदीय विधि निर्माणप्रति आफू नतमस्तक रहेको बताउनुभएकाे हाे । 

‘आफूले गरेको सहमतिप्रति सरकार प्रतिबद्ध छ, संसद्को सर्वाेच्चताको सम्मान गर्दछ, सरकारले सदनलाई आदेश दिन मिल्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘डा केसीको अनशन संसद् र संसदीय सर्वाेच्चतासँग जोडिएको प्रश्न हो, संसद्ले कानून निर्माण, सरकार गठन र परिवर्तन गर्न सक्छ, सम्पूर्ण जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलो संसदीय सर्वाेच्चताप्रति सरकार थिचोमिचो गर्दैन र याे गर्न पनि हुँदैन ।’

उहाँले सम्झौता भनेको सत्यनिरुपण होइन, तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गरिएको सम्झौता मात्रै रहेकाे बताउँदै सरकार सम्झौताप्रति प्रतिबद्ध रहेकाे बताउनुभयाे । ‘प्रणाली र प्रक्रियाभन्दा बाहिर गएर आफूलाई ‘सुप्रिम’ छु भनेर भन्न कसैले मिल्दैन,’ उहाँले थप्नुभयाे, ‘हरेकले आफ्ना सीमा, कानूनी राज्य र कानून पालनाको कुरालाई मान्नुपर्छ, हामी सबै संविधान, कानून र विधिको प्रक्रियाभित्र छौँ ।’


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com