३ माघ २०७५, बिहीबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गलत नियतले न्याय सम्पादन गर्ने विराटनगर उच्च अदालतका पाँच न्यायाधीशलाई कारवाही गर्नुभएको छ ।

साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद् सचिवालयमा तानिएको हो । प्रधानन्यायाधीश राणाले गठन गरेको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल काठमाडौं तानिएका हुन् ।

छानबिन नसकिदासम्म उनीहरुलाई न्याय परिषद्मै हाजिर गराइने छ । सुन प्रकरणमा कानूनको बलजफ्ती गर्दै उन्मुक्ति दिएको गुनासो र उजूरी प्राप्त भएपछि परिषद्को सुक्ष्म निगरानी संयन्त्रले प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा प्रधानन्यायाधीशले पाँच न्यायाधीशलाई परिषद्मा हाजिर गराएर छानविन गर्ने निर्णय गर्नुभएको हो ।

प्रधान न्यायाधीशको कार्यभार सम्हाले लगत्तै राणाले न्यायाधीश उपर आउने गुनासा र टिका–टिप्पणी तत्काल सम्बोधन गर्ने गरि न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV