३ माघ २०७५, बिहीबार

भरतपुर – प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले नेपालभित्रै बसेर कृषिको विज्ञता हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल बीउ व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘बीउ प्रविधि प्रसार’ अन्तरक्रियामा उहाँले अन्नबाली र तरकारीमात्र नभई उत्पादनमुखी फलफूल जुनार, किबी, चिउरीलगायतका बीउमा पनि ध्यान केन्द्रित गर्न प्राविधिकलाई निर्देशन दिनुभयो ।

प्रदेशसभा, स्वास्थ्य, शिक्षा तथा कृषि समितिका सभापति घनश्याम दाहालले बीउमा नेपाललाई आत्मनिर्भर बनाउन प्राविधिकको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले देशमा हाइब्रिड बीउको नाममा स्थानीय जात विस्थापित भएको भन्दै स्वदेशमा नै गुणस्तरीय बीउ उत्पादनमा जोड दिनुपर्छ भन्नुभयो ।

नेपाल बीउ व्यवसायी सङ्घका पूर्वअध्यक्ष मित्रराज दवाडी, कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौँडाका वरिष्ठ कृषि प्रसार अधिकृत दिनेश आचार्य, कृषि ज्ञान केन्द्र भरतपुरका बाली विकास अधिकृत माधव पौडेललगायतले उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि गुणस्तरीय बीउ उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । नेपाल बीउ व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकान्त ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

LIVE TV