२ माघ २०७५, बुधबार

काठमाडौं । नेपालमा ‘सेकेन्ड ह्याण्ड’ मेडिकल उपकरण आयात गर्न पाइँदैन । अन्य मुलुकले पुराना मेडिकल उपकरण ‘डम्पिङ’ गर्ने केन्द्र बनाएपछि चार वर्ष अगाडि नै सरकारले यो नियम लगाएको थियो । तर, नियम बिपरित कम ‘पावर’ क्षमताका हानिकारक एक्सरे मेसिन अझै सञ्चालनमा रहेको चिकित्सकले बताएका छन् ।

विभिन्न रोगको पहिचानमा प्रयोग हुने मेडिकल उपकरण जस्तैः सिटि स्क्यान, एक्सरे, डिजिटल रेडियोग्राफी, कम्पुटर रेडियोग्राफी जस्ता उपकरण पुरानो हुँदा त्यसले चाहिनेभन्दा बढी विकिरण फाल्छ । जसले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । र, क्यान्सरसम्म हुन सक्छ । नेपालमा यस्ता उपकरण अत्यन्त पुराना र बिग्रिरहने हुँदा चलाउने टेक्निसियन र बिरामीमा गम्भीर असर गर्ने चिकित्सकको भनाइ छ ।

विकिरणयुक्त उपकरणमध्ये पनि एक्सरेको प्रयोग अति संवेदनशील मन्निन्छ । चाहिनेभन्दा बढी एक्सरे गर्दा अनावश्यक विकिरणको एक्सपोजर हुन्छ । विदेश जानका लागि जथाभावी गरिने एक्सरेले पछिल्लो समय झनै जोखिम थपेको चिकित्सक बताउँछन् । साथै, एक्सरे मेसिनको अवस्था साना–ठूला सबै अस्पतालमा नाजुक छ । सय एम ए भन्दा कम पावरको प्रयोग गर्न नपाइने भए पनि सस्तो, छिटो र एक ठाउँबाट अर्को ठाउँमा सार्न सहज हुने भएकाले त्योभन्दा कम पावरको मेसिन प्रयोग भइरहेको छ ।

विकसित देशमा केही समय उपयोग गरेपछि कम्पनीले मर्मत गरेर अन्यलाई बिक्री गर्ने गरेका उपकरण रिफर्बिस हुन् । किनभने यी उपकरण काम नलाग्ने भएपछि ‘डिस्पोज’ गर्दा समेत ठूलो जोखिम हुने भएकाले अविकसित देशतिर सस्तोमा बेच्ने प्रबृत्ति छ । विकिरणयुक्त मेसिनको असुरक्षित प्रयोगबाट मेसिन चलाउने टेक्निसियन र बिरामी प्रभावित भइरहेका छन् । अधिकांश साना अस्पताल र क्लिनिकमा रेडियोलोजीका उपकरणको असुरक्षित प्रयोग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV