२ माघ २०७५, बुधबार

हेटौँडा । ग्रामीण महिलाको जीवनस्तरमा सुधार ल्याउने भएको छ ।

प्रदेश नं ३ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले सीमित स्रोत साधनबाट प्रदेशमा ऊर्जा र बायो ग्यासको उत्पादन बढाएर ग्रामीण महिलाको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य प्रदेश सरकारको रहेको बताए ।

हेटौँडामा आयोजित ‘हरित तथा सभावेशी ऊर्जा’ प्रदेशस्तरीय परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेश नं ३ का १३ जिल्लाको भौगोलिक अवस्थाको पहिचान गरी बायोग्यास, सौर्य, सुधारिएको चुलोको उत्पादन गर्न सरकाले पाँचवर्षे आवधिक योजनातर्जुमा गर्न लागेको बताए ।

मन्त्री नेपालले ग्रामीण भेगको वातावरणमा सुधार ल्याउन खाना पकाउने इन्धनका रुपमा प्रयोग हँुदै आएको दाउराको खपतलाई वैकल्पिकरुपमा परिवर्तन गरी त्यस भेगमा सुधारिएको चुलो, बायोग्यास र ग्रामीण विद्युतीकरणलाई सुलभरुपमा प्रयोगमा ल्याउन विभिन्न सङ्घसंस्थाको पनि सहभागिता हुनुपर्नेमा जोड दिए ।

ग्रामीण महिलालाई बायोग्यास, सुधारिएको चुलो र सौर्य उर्जाको सुलभ तरिकाले उपलब्ध गराउनेतर्फ नीतिगत कार्यक्रम तर्जुमा गरी लागू गर्न प्रदेश सरकारलाई आग्रह गर्दै उनले महिलाको सहभागिता रहेको समूहलाई बायोग्यास र सुधारिएको चुलोको निर्माण गर्न वित्तिय क्षेत्रका बैंकले ऋण लगानी गर्न हिचकिचाउन नहुने धारणा व्यक्त गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका उपसचिव रघुराम पराजुलीले आगामी १० वर्षभित्र विद्युतीय सवारी भित्र्याउने र ग्रामीण भेगमा बायोग्यास, सौर्य ऊर्जा, सुधारिएको चुलोको उत्पादन गर्नेतर्फ प्रदेश सरकारले नीतिगत कार्यक्रम तर्जुमा गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV