२ माघ २०७५, बुधबार

काठमाडौं । सरकारको हरेक विषयको सुक्ष्म अनुगमन गर्न नेपाली कांग्रेसले छायाँ सरकारको अवधारणा अघि बढाएको छ । प्रतिपक्षको उपस्थिति शून्य देखिएको टिकाटिप्पणी भइरहँदा कांग्रेसले सरकारको निगरानीको लागि गठन गरेको छायाँ सरकारले सरकारको गलत कामको भण्डाफोर गर्ने कांग्रेसको दावी छ ।

नेपाली कांग्रेसको गत पुस २४ गते बसेको संसदीय दलको बैठकले छायाँ सरकार गठन गर्ने निर्णय ग¥यो । संसदीय व्यवस्थामा बहुमत प्राप्त दलले सरकार गठन गर्ने र दोस्रो ठूलो दलले प्रमुख प्रतिपक्षीको भूमिकामा सरकारलाई जनउत्तरदायी बन्न र विधिसम्मत चल्न निरन्तर सतर्क बनाउने गर्छन् । त्यही छायाँ सरकारको मन्त्री बन्न पनि एक दर्जन बढी कांग्रेसले सांसदले नाम टिपाएका छन् ।

छायाँ सरकारमा मन्त्री बन्ने इच्छुकाको हालसम्मको सूचीः

– गृह,संघीय मामिला र खेलकुदः दिलेन्द्रप्रसाद बडु
– गृह, पर्यटन तथा भौतिक पूर्वाधारः देवेन्द्रराज कँडेल
– शिक्षाः तेजुलाल चौधरी
– सहरी विकासः मिनाक्षी झा
– भौतिक पूर्वाधार तथा यातायातः जिपछिरिङ लामा
– महिला बालबालिका उद्योग तथा आपूर्ति र श्रम : सुजाता परियार
– शहरी विकासः रामबहादुर विष्ट
– गृह तथा सहरी विकासः देवप्रसाद तिमिल्सिना
– गृह, संघीय मामिला तथा रक्षाः डिला संग्रौला
– शिक्षा, स्वास्थ्य तथा जनसंख्याः भीमसेनदाश प्रधान

प्रतिपक्षी दलका सबै सांसद सबै विषयमा पोख्त नहुने हुनाले नै सरकारका क्रियाकलापको निगरानी गर्न, आवश्यक सुझाव दिन र प्रामाणिक रूपमा प्रतिक्रिया या विरोध गर्न सरकारजस्तै विभाग बनाएर सांसदहरूलाई तिनको योग्यताअनुसार विभाग प्रमुख बनाउने काम नै छायाँ सरकार हो । जसको नेतृृत्व सभापति शेरबहादुर देउवाले नै गर्नेछन् । सरकारको रवैया र जनताप्रतिको उदासिनका कारण नै छायाँ सरकार गठन गर्नुपरेको कांग्रेसको दावी छ ।

सरकारको निगरानी गर्ने छायाँ सरकारलाई लिएर सरकार भने सकरात्मक देखिएको छ । गलत कदमको भण्डाफोर गर्ने उद्देश्यसहित गठन गर्न लागिएको छायाँ सरकारले देश र जनताको उन्नतीका लागि सहयोगी भूमिका निर्वाह गर्ने भन्दै कांग्रेसको कदमलाई सरकारले सकरात्मक रुपमा लिएको छ ।

कमजोर प्रतिपक्षका कारण पनि सरकार बढी ‘गफ’मा सीमित भएको टिप्पणीबीच कांग्रेसले ‘चेक एण्ड ब्यालेन्स्’को सम्यन्त्र त बनाउन खोजेको देखिन्छ । तर, त्यो सम्यन्त्र सरकारसँग अनावश्यक ‘हिमचिम’ गर्ने माध्यम बन्छ कि भन्नेतर्फ भने कांग्रेस नेतृत्व सजग हुनुपर्छ । मन्त्री र छाया मन्त्रीको मिलेमतो भयो भने बिकृति भने बढ्न सक्छ ।

LIVE TV