२ माघ २०७५, बुधबार

काठमाडौं । नेपाली कांग्रेसले ‘वाईडबडी’ विमान खरिद प्रक्रियामा सभापति शेरबहादुर देउवाको संलग्नता नै नरहेको दावी गरेको छ ।

समसामयिक विषयबारे जानकारी गराउन आज पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले सभापतिको नाम गलत ढंगले प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो । कांग्रेसले राजनीतिक पूर्वाग्रह, प्रभाव र दबाबाट मुक्त रहेर विमान खरिद प्रक्रियाको छानविन गर्न सरकारसँग माग पनि गरेको छ । विमान खरिद प्रक्रिया सुरु हुँदा प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको भन्दै कांग्रेसले राजनीतिक पूर्वाग्रहका कारण सभापति देउवालाई जोडिएको दावी पनि गरेको छ ।

तत्कालिन प्रधानमन्त्री देउवाले पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बेला सो मन्त्रालयले २०७४ जेठ २९ गते ‘वाइडबडी’ खरिदको रकम भुक्तानीका लागि ७ करोड ९० लाख अमेरिकी डलरको सटही सुविधा उपलब्ध गराउन सिफारिस गरेको थियो ।

फरक प्रसंगमा कांग्रेसले अनसनरत डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्र्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको दोहोरो चरित्रका कारण चिकित्सा शिक्षाको क्षेत्रमा समस्या आएको भन्दै उसले तत्काल पुराना सहमतिमा फर्कन, नभए केसीको माग सम्बोधनका लागि आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

प्रवक्ता शर्माले विधानतः आज रातिबाट स्वतः विघटन हुने नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने निर्णय भएको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV