२ माघ २०७५, बुधबार

बसन्त खतिवडा,

बारा, २ माघ । रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणको तयारी पूरा भएको छ । बिहीवारदेखि सिमरा रंगशालामा सुरु हुने उद्घाटन खेल आयोजक नव जनजागृति युवा क्लव र मकवानपुर ११ बीच हुनेछ ।

प्रतियोगितामा सात ए डिभिजन र तीन मोफसल गरी १० टिमको सहभागिता रहनेछन् । क्लबका अध्यक्ष कासिम मियाका अनुसार प्रतियोगितामा ए डिभिजनको साविक बिजेता त्रिभूवन आर्मी क्लब सहित रुस्लान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब सहभागिता जनाउनेछन् ।

यसैगरी आयोजक जनजागृतिसहित मोफलसलको बिशाल मेमोरियल फाउण्डेशन र मकवानपुर ११ को सहभागिता रहने छ । प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछन् । पुरस्कार राशीमा आयोजकले यस वर्ष ५० हजार बृद्धी गरेको छ । अघिल्लो वर्ष बिजेताले पाँच लाख ५१ हजार र उपबिजेताले दुई लाख ५१ हजार प्राप्त गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्रदान गरिने भएको छ । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने विधागत पुरस्कार राशीमा यस वर्ष पाँच हजार थप गरिएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

आयोजकले यस वर्ष खेल उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी मध्ये एकजनालाई उदयीमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ । प्रतियोगितामा सहभागी टिममध्ये १६ वर्षसम्मका एक खेलाडीको हौसला बढाउन उदयीमान खेलाडी चयन गर्न लागिएको महासचिव ठकुरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV