२ माघ २०७५, बुधबार

उत्तम पौडेल,

कास्की । पोखरा महानगरपालिका–१४ स्थित बाच्छेबुडुवामा अबैधरुपमा क्रसर सञ्चालन भइरहेको खुलेको छ । पोखरा महानगरपालिकाले कृषियोग्य जमिन सम्याउने र त्यहाँबाट निस्किएको ढुंगा, गिट्टी, बालुवा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलमा आपूर्ति गर्ने गरी दिएको अनुमति सकिँदा पनि क्रसर सञ्चालन भइरहेको पाइएको हो ।

पोखरा महानगरपालिकाले आउने ढुंगा, माटो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आपूर्ति गर्ने गरी २०७४ माघ २२ गते क्षेत्र उत्खनन् गर्ने अनुमति दिएको थियो । रामजी कार्की, रोमबहादुर कार्की, थमन कार्की र कृति कार्कीको नाममा रहेको २७ रोपनी यो जग्गामा महानगरपालिकाको अनुमतिअनुसार चैत ३० सम्म मात्रै उत्खनन गर्न पाइने थियो । तर, समय नाघ्दासमेत यहाँ उत्खनन्का नाममा अबैध रुपमा क्रसर सञ्चालित छ ।

खोलासँगै जोडेर अझै निस्फिक्री रुपमा ढुंगा, गिट्टी, बालुवा निकालिदै छ । सञ्चालक मध्येका एक रोमबहादुर कार्की आफूै अवैध काम गरिरहेको स्वीकार्छन् । उनी उल्टै प्रश्न गर्छन्– अरुले पनि खवैध काम गरिरहेका छन्, मैले मात्रै कानून मान्नु पर्ने ?

कोन टेक प्रालिले पोखरा बिमानस्थलका लागि ढुंगा, गिट्टी, बालुवा उपलब्ध गराइरहेको छ । सोही कम्पनीसँग मिलेर अबैधरुपमा क्रसर सञ्चालन गर्दै आएका ठेकेदारले वडासँग गरेको सहमति पनि पालना नगरेको स्थानीयको दावी छ । तर, स्थानीय तह त्यो मान्न तयार छैन । ठेकेदार समूहकै वकालत गर्ने वडाध्यक्ष नियम संगत काम गरिएको र त्यसमा आफ्नै उपकरण प्रयोग भइरहेको गर्वसाथ बताउँछन् ।

वातावरणीय प्रभाव मूल्यांकन भएको नौं महिना बित्दा पनि प्रतिवेदन प्राप्त भएको छैन । ठेकेदार टोलीसँग मिलेर वडाअध्यक्ष आफैंले डोजर लगाएर प्राकृतिक स्रोत दोहन गरिरहेका छन । जनप्रतिनिधि नै ठेकेदारको लाभमा केन्द्रित हुँदा गाउँ–ठाउँका समस्या कसले समाधान गरिदेला भन्ने स्थानीयको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV