
भक्तपुर, २ माघ । भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृति महत्व बोकेको ङालाकेगु (माछा समाउन दिने) जात्रा माघ १ गते देखी शुरु भएको छ । १६ औ शताब्दी देखि प्रचलनमा आएको यो जात्रा माघे संक्रान्तिको राती नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगेर तान्त्रिक विधिद्धारा अष्टमात्रिका देवी देवताहरुलाई आव्हान गरी श्वेत भैरवले विधिवत् रुपमा पूजा अर्चना गरेपछि जात्रा शुरु गर्ने गरिन्छ ।

जात्रा शुरु सूर्य ¥यमढी टोलबाट शुरु गरिने गरिन्छ । भक्तपुर नगर भित्र करिब ८ महिना लगाएर क्रमशः नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । भक्तपुर नगरका सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछँे, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछँे, टिबुक्छेँ, बोलाछँे, खौमा, इताछेँ, बालाखु, तुलाछँे, चोछँे र इच्छुमा ङालाकेगु जात्रा गरिन्छ ।
यस नाचमा खिंःबाजा, तःंबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, हेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण रहेको हुन्छ ।
नारीप्रति अपहेलनाबाट नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने बेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज, मतिना नाच सँग सम्बन्धित यस जात्राले समाजलाई दिशाबोध गरिरहेको संस्कृतिकर्मीहरु बताउँछन् ।
पौराणिक किम्बदन्ती तथा शिलालेखमा उल्लेख भए अनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर शहरलाई नवदुर्गा भवानी मार्फत राजधानीको शहरको रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ती एवं समृद्धि फैलाउन बनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीहरुका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएको हो ।
जात्रामा द्यो ब्वेकेगु अथवा प्रसाद ग्रहण गर्नेबारे पनि जात्रा हुन्छ । त्यस जात्रामा माछा, अण्डा, बारा, चटामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेडागुडी, दही चिउरा साथै चौरासी व्यञ्जनको प्रयोग हुन्छ । पञ्चबलीको रुपमा हाँस, कुखुरा, राँगो, बोका, भेडा बलि दिने गरेको पाइन्छ । साथै मुख्य बलिको रुपमा सुँगुर लखेटेर (बां लिकेगु) जात्रा मनाउने चलन रहेको छ ।
नवदुर्गा देवगणलाई प्रसाद ग्रहण (द्यो ब्वेकेगु) कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल हुनुको साथै कुल स्थिर हुने जनविश्वास रहेको छ । आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गाको दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुनेु विश्वास रहेको पाइन्छ ।
नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुने जनश्रुती रहेको पाइन्छ । जात्रा सञ्चालन र नाचका बारेमा कुनै लिपिवद्ध लेख रचना नभएको कारण नयाँ पुस्तामा जात्रा हस्तान्तरण गर्दा समस्या आउने गरेको देवगणका नाईकेहरु बताउँछन् ।
भक्तपुरको कला संस्कृति र साँस्कृतिक पाटो तथा जीवनसँग जोडिएको यो नाचलाई निरन्तरता दिन आर्थिक लगायतका समस्या रहेको उनीहरु बताउँछन् ।