२ माघ २०७५, बुधबार

बागलुङ, २ माघ । प्रहरीको कुटाईबाट बागलुङको गल्कोट नगरपालिका–६ हरिचौरका एक व्यक्ति गम्भीर घाइते भएका छन् । हरिचौर स्थायी ठेगाना भएका ४० वर्षीय सोमबहादुर बस्नेतलाई प्रहरी प्रेम बिष्ट र बुद्ध थापाले सामान्य भनाभनका क्रममा हात हालेपछि बस्नेत घाइते भएको परिवारले जनाएको छ ।

प्रहरीको कुटाईबाट घाइते भएका बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचार गराएपछि थप उपचारका लागि पोखरा लगिएको छ । अहिले उनी पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उपचाररत रहेको बस्नेतकी श्रीमती कृष्णकुमारी बस्नेतले बताईन् ।

बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ । स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निघात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । सोमबार राति साढे ९ बजेको समयमा हटिया बजारमा बस्नेतसहित रहेका बिक्की गैरे, कृष्ण खत्री र प्रहरीबीच भनाभनपछि कुटपिटमा परिणत भएको स्थानीयबासीले बताएका छन् ।

बस्नेत, खत्री र गैरेले मदिरा सेवन गरेको र प्रहरीले सोधपुछ गर्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शी बताउँछन् । प्रहरीको कुटपिटबाट घाइते कृष्ण खत्रीको अवस्था भने सामान्य छ । जनताको सुरक्षामा खटिएका प्रहरीबाटै निर्घात कुटपिटको घटना गम्भीर विषय भएकाले घटनामा सम्लग्नलाई तत्काल कारबाही गर्नुपर्ने घाइते बस्नेतकी श्रीमती कृष्णकुमारीले बताइन् ।

कुटपिटमा संलग्न आरोप लागेका प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा तानिएको प्रहरी निरीक्षक केशबसि.ह थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV