२ माघ २०७५, बुधबार

रबिना बोहरा

बागलुङ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल बनाउनका लागि श्रमलाई मेसिनमा बदल्न आवश्यक रहेको बताएकाछन् । बागलुङको जैमिनीमा आयोजित प्रथम जैमिनी महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले जिवनलाई उत्पादनमुखी तथा रोजगारमुखी बनाउन सकेमात्रै समृद्धीको सपना पुरा हुने धारणा राखे ।

अहिले प्रविधिको युग भएकाले प्रत्येक व्यक्तिको घरघरमा हातबाट नभई मेसिनबाट काम हुनुपर्ने बताउँदै उपराष्ट्रपति पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउँनका लागि सरकार र जनताबीच सहकार्य आवश्यक रहेको समेत पुष्टि पारे । जनता सुखी नभएसम्म मुलुकको समृद्धि हुन नसक्ने भन्दै पुनले यस अभियानमा सबै सहभागी हुन आग्रह गरेकाछन् ।

अहिले समृद्ध मुलुक निर्माणको अभियानमा सबै लागिरहेको भन्दै जनतामा समृद्धि ल्याउँनका लागि उत्पादन क्षेत्रमा लगानी बढाउँन आवश्यक रहेको बताए । आम नेपालीलाई सुखी बनाउँनकै लागि मुलुकमा संघीयता, धर्म निरपेक्षता, समावेशीता लागू भएको भन्दै अब कोहीपनि नेपाली दुःखी हुन नपरोस भन्नका लागि नयाँ तरिकाले उत्पादनमुखी योजना बनाउँनका लागि तीनै तहका सरकारले सोच्नुपर्ने बताए ।

नेपाल बहुजातीय, बहुभाषिक मुलुक भएकै कारण विश्वमा उदाहरणीय भएको बताउँदै पुनले आम नेपालीले आफूलाई पहिले मानव र अनि मात्र जातजाती, भाषाभाषी, धर्म सम्प्रदायका रुपमा चिनाउँने गरेको बताए ।

महोत्सवमा संघीय सांसद डाक्टर सूर्य पाठक, राष्ट्रसभा सदस्य बद्री पाण्डे, नेकपाका नेता लिलाबहादुर थापा, प्रदेश सांसद कृष्ण थापा लगायतले ऐतिहासिक जैमिनी क्षेत्रमा आयोजना गरेको महोत्सवले यहाँको विकासमा थप मद्धत पुग्ने बताएका थिए ।

महोत्सवमा जैमिनी नगरपालिका भित्र उत्पादन भएका कृषी उपजको प्रदर्शनी पनि गरिएको छ । महोत्सवमा यहाँका विभिन्न जातजातीका कला संस्कृतिहरुको झाँकी पनि प्रस्तुत गरिएको थियो । स्थानीय साहारा क्लबको आयोजना तथा जैमिनी नगरपालिकाको सहयोगमा सञ्चालित महोत्सव माघ ४ गते चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV