१ माघ २०७५, मंगलवार

नुवाकोट । नुवाकोटमा गोरु जुधाउने मेला सम्पन्न भएको छ । उक्त मेलामा यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न गरिएको हो ।जिल्लाको पहिचानका रुपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा २२ हल गोरु जुधाइएको थियो ।

मेलाको आज उद्घाटनगर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तारुकाको गोरु जुधाइ देशकै पहिचानका रुपमा विकास भएकाले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्नेमा जोर्ड िदए । यहाँको पहिचान स्थापित गराउनका लागि सरकारले सहयोग गर्ने पनि उनले बताए । प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तारुकाको गोरु जुधाइने पाटोलाई सरकारीस्तरबाट खरीद गरेर खेलमैदानका रुपमा विकास गर्नुपर्ने बताए । जिल्लाका विभिन्न स्थानमा पहिले गोरु जुधाउने गरिएकामा नुवाकोटको तारुकाले व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरिका जुरे बहर गोरु एकै थलोमा जुधाउने चलनको शुरुवात ग¥यो ।

 गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्युँताउने काम भएको छ । तारुकामा विजेता गोरुधनीलाई रु ६ हजार र हार्ने गोरुका धनीलाई रु चार हजार पुरस्कार प्रदान गरिएको थियो ।‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ शुरु भएको मेलामा हजारौँ दर्शकको भीड लागेको थियो । कच्ची मोटरबाटो र धुलोको कारण तारुका पुग्न कठिनाइ भए पनि हजारौँ दर्शकको भीडबाट नै यहाँको गोरु जुधाइको महत्व र लोकप्रियता स्पष्ट हुने वडाध्यक्ष समरबहादुर आलेमगरले बताए ।

गोरु जुधाइ पर्वले आन्तरिक पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताए । उनले पालिकाभरिको सबैभन्दा उत्कृष्ट मेला तारुकाको गोरु जुधाइ नै भएकाले मेला आयोजनामा गाउँपालिका प्रत्यक्ष सहभागी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV